सभामुखद्वारा नेपाली क्रिकेट टोलीको विदाइ


काठमाडौं, ४ भदौ । सभामुख कृष्णबहादुर महराले एशियाकप छनौटको तयारीका लागि श्रीलंका जान थालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गर्नुभएको छ ।

वालुवाटारस्थित सभामुखको सरकारी आवासमा आज (सोमबार) बिहान नेपाली क्रिकेट टोलीलाई माला लगाई सभामुख महराले बिदाइ गर्नुभएको हो ।

अगष्ट २९ तारिखदेखि मलेसियामा आयोजना हुने एशिया कप छनौटको तयारीमा रहेको नेपाली टोली अभ्यास खेल खेल्न आज नै श्रीलंका प्रस्थान गरेको छ । 

बिदाइका अवसरमा सभामुख महराले क्रिकेट खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा नेपालको गरिमा बढाइदिएको भन्दै आगामी दिनहरुमा अझैं राम्रो प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो । 

हालै एक दिवसीय क्रिकेट खेलेर फर्किएको टोलीलाई भेट्न पाउँदा आफू उत्साहित भएको बताउँदै सभामुख महराले आगामी दिनमा पनि नेपाली क्रिकेटले नेपाली जनतालाई थप खुशी दिलाउने विश्वास व्यक्त गर्नुभयो ।

राज्यले खेलकूदका क्षेत्रमा अझै लगानी गर्नुपर्नेमा जोड दिँदै उहाँले सबैको सहकार्यले मात्रै खेल क्षेत्रको विकास हुने बताउनुभयो । 

सो अवसरमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले राजनीतिक नेतृत्वले खेल क्षेत्रलाई क्रमशः बुझ्दै गएकोमा खुशी ब्यक्त गर्दै एशियाकप छनौटमा पनि टिमले राम्रो प्रदर्शन गर्ने बताउनुभयो ।

कप्तान खड्काले प्रतियोगिता आफू र नेपाली टिमका लागि निकै महत्वपूर्ण रहेको र अहिलेको क्रिकेटको माहोल बनाइराख्न जरुरी रहेको बताउनुभयो । श्रीलंकामा सक्दो राम्रो अभ्यास गरेर कमजोरीलाई औंल्याउँदै टिम जीतका लागि मलेसिया जाने खड्काले बताउनुभयो ।

श्रीलंकामा एक साता बस्ने नेपाली टोलीले त्यहाँ तीन वटा अभ्यास खेल खेल्नेछ । नेपालले बुधबार श्रीलंकाको आर्मी क्रिकेट टिम, शुक्रबार ब्लुमफिल्ड र आगामी आइतबार कोल्ट क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

एसिया कपमा छनौटमा जम्मा नेपालसहित युएई, हङकङ, ओमान, मलेशिया, सिङ्गापुरले प्रतिस्पर्धा गर्नेछन् । एसिया कप छनौटमा विजेता राष्ट्रले आगामी सेप्टेम्बर १६–२८ मा हुने एसिया कपमा छनौट हुनेछ । भारत, श्रीलंका बङ्गलादेश, पाकिस्तान र अफ्गानिस्तानजस्ता क्रिकेटका शक्तिशाली राष्ट्रसँग एसिया कप खेल्ने आवसर पाउनेछ ।