रुकुम पूर्वको विश्वसम्पदा सूचीमा रहने सामथ्र्य छ : सभामुख महरा


काठमाडौं, ११ भदौ । सभामुख कृष्णबहादुर महराले रुकुम पूर्व र भूमे गाउँपालिकाले विश्व सम्पदा सूचीमा रहने थुप्रै सम्भावना बोकेको बताउनुभएको छ ।

रुकुम पूर्वको भूमे गाउँपालिकाले सोमबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना गरेको गुरिल्ला पर्यटन, भूमे गाउँपालिका वृत्तचित्र तथा चिनारी पुस्तिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो ।

रुकुम पूर्वमा रहेका युद्ध सम्पदा, साँस्कृतिक सम्पदा र प्राकृतिक सम्पदाहरु नेपालको मात्र नभई विश्वस्तरकै सम्पदा सूचीमा रहन सक्ने सम्भावना प्रशस्त छ’ उहाँले भन्नुभयो, ‘यहाँका युद्ध सम्पदाहरुलाई विश्वमा चिनाउन र गुरिल्ला मार्गलाई पैदल मार्गको रुपमा विकास गर्न सक्यौं भने वल्र्ड हेरिटेजकै रुपमा विश्वलाई आकर्षित गर्न सकिन्छ ।’

चुनबाङ बैठक माओवादी आन्दोलनको टर्निङ प्वाइन्ट रहेको भन्दै सभामुख महराले माओवादीले सशस्त्र युद्धको धार बदलेर शान्तिपूर्ण धारमा आउने निर्णय गरेको चुनबाङ रुकुम पूर्वमा नै पर्ने बताउनुभयो । 

‘चुनबाङ भेडीडाँडा बैठकबाट माओवादी आन्दोलन युद्धको धारबाट शान्तिपूर्ण धारमा आउने निर्णय ग¥यो’ उहाँले भन्नुभयो, ‘शान्तिपूर्ण तरिकाले गणतान्त्रिक नेपाल निर्माण गर्ने महाअभियानमा लाग्यौं र सफल भयौं पनि, त्यसको १० वर्षपछि जनताको संविधान निर्माण पनि भयो ।’

रुकुम पूर्व र विशेष गरी भूमे गाउँपालिकाको ऐतिहासिक जनसंघर्षको गौरवपूर्ण इतिहास रहेको भन्दै सभामुख महराले इतिहासप्रति गौरव गर्दै समृद्धिको यात्रामा लम्किनुपर्ने बताउनुभयो । अहिलेदेखि नै समृद्ध रुकुम पूर्वको मार्गचित्र बनाएर अघि बढे विगतमा गौरवपूर्ण इतिहास बनाएको पूर्वी रुकुम र भूमे गाउँपालिकाले फेरि नयाँ भविष्य निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

युद्धकालमा तत्कालीन राजाले माओवादीलाई बाटो बिराएका अपराधी भनेर वक्तव्य निकाल्दा आफूहरु रुकुम पूर्वकै लाबाङमा रहेको स्मरण गर्दै सभामुख महराले आफूले राजाविरुद्धको लडाई पेचिलो बनेको बीबीसीमार्फत् लाबाङबाटै अन्तर्वार्ता दिएको बताउनुभयो ।

अहिले प्रतिस्पर्धासहित विकास निर्माणको चरणमा रहेको भन्दै सभामुख महराले भूमे गाउँपालिका र सिंगो पूर्वी रुकुमले समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘हिजो हामीले एउटा फरक इतिहास र जग बनायौं, अब त्यो जगमा टेकेर पूर्वी रुकुमलाई समृद्धिको दिशामा अगाडि बढाउनुपर्नेछ ।’ उहाँले भन्नुभयो, ‘त्यसका लागि फरक भूमिकामा नयाँ इतिहास निर्माण हुने गरी जनताको स्तर उठाउनुपर्नेछ । उत्पादनको काम गर्नुपर्नेछ । यी सबै पूरा गर्ने दायित्व इतिहासले तपाईं हामीलाई सुम्पिएको छ । ती दायित्व पूरा गर्न सबै प्रतिबद्ध भएर लाग्न मेरो विशेष आग्रह छ ।’

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गुरिल्ला पदमार्ग, युद्ध संग्रहालय निर्माण र युद्ध पर्यटनको प्रवद्र्धनका लागि सरकारले आवश्यक बजेट छुट्याएको बताउनुभयो ।

रुकुम पूर्वको बहुआयामिक समृद्धि र विकास गर्न तथा त्यहाँको ऐतिहासिकता र बलिदानलाई उच्चता दिन स्थानीय सरकारसँग आवश्यक समन्वय गरी सरकारले आवश्यक पहल गर्ने विश्वास दिलाउनुभयो । रुकुम पूर्व देशका एक सय गन्तव्यमा पर्ने बताउँदै पर्यटनमन्त्री अधिकारीले समग्र विकाससँगै पर्यटन विकासका पूर्वाधारहरुको निर्माणमा आफ्नो गम्भीर चासो रहेको बताउनुभयो ।

कार्यक्रममा रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कमला रोकालगायतले सम्बोधन गर्नुभएको थियो भने पूर्वमन्त्रीहरु गणेशमान पुन, दलजित शेर्पालीलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा भूमे चिनारी पुस्तिकाको विमोचन गरिएको थियो भने गुरिल्ला पर्यटन र भूमे गाउँपालिका नामक दुईवटा वृत्तचित्र प्रदर्शन गरिएको थियो । त्यस्तै, भूमे गाउँपालिकासम्बन्धी विभिन्न तस्बिरहरु प्रदर्शनीमा पनि राखिएको थियो ।

गाउँपालिका अध्यक्ष रामसुर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढाले स्वागत गर्नुभएको थियो ।