सभामुख महरासँग नवनियुक्त चिनियाँ राजदूतको भेट


काठमाडौं, पुस ३० । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार (आज) सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

भेटमा चिनियाँ पिपुल्स कंग्रेसका सभामुखले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाउनुभएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै प्रगाढ र घनिष्ट रहेको बताउनुभयो । दुई देशबीच कूटनीतिक र राजनैतिक सम्बन्धका साथसाथै दुई देशका जनताबीच पनि घनिष्ट सम्बन्ध रहेको बताउनुभयो ।

‘नेपाल र चीनबीच कूटनीतिक र राजनीतिक सम्बन्ध प्रगाढ त छँदैछ, सभामुख महराले भन्नुभयो, ‘दुई देशका जनताबीचको सम्बन्ध पनि निकै घनिष्ट रहेको छ, जसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र बलियो बनाएको छ ।’

नयाँ चिनियाँ राजदूतको रुपमा नेपाल आउनुभएका याङ्छीलाई स्वागत व्यक्त गर्नुहुँदै सभामुख महराले राजदूतको रुपमा याङ्छीको कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

चीनले नेपालको जलविद्युत, पर्यटन, सडकलगायतका थुप्रै क्षेत्रमा सहयोग गरिरहेको बताउँदै सभामुख महराले आगामी दिनहरुमा पनि चीनको सहयोग विस्तार हुनेमा विश्वास व्यक्त गर्नुभयो । चीनले शुरु गरेको बेल्ट एण्ड रोड परियोजनाबाट नेपालले धेरै फाइदा लिन सक्ने भन्दै सभामुख महराले उक्त परियोजनामा नेपालका तर्फबाट आफू अर्थमन्त्री हुँदा सहमतिमा हस्ताक्षर गरेको स्मरण गर्नुभयो ।

चीनको सहयोगले नेपाल–चीन रेल सेवा चाँडै सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको भन्दै सभामुख महराले केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग चाँडै बन्नेमा आशावादी रहेको बताउनुभयो ।

सभामुखसँगको भेटमा नेपालका लागि चीनका राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त नजिकको रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा चीन–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन साथै नेपालको विकास र समृद्धिका लागि आफू लागिपर्ने बताउनुभयो ।

राजदूत याङ्छीले वेल्ट एण्ड रोड परियोजनामा नेपाल महत्वपूर्ण साझेदार मुलुक भएको भन्दै नेपालले पनि उक्त परियोजनाबाट महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा संघीय संसद सचिवालयका महासचिव मनोहर भट्टराई, सचिव भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।