विश्वमा नेपाल चिनाउन पर्यटन : सभामुख


काठमाडौं, १२ जेठ । सभामुख कृष्णबहादुर महराले नेपालको पहिचान विश्व जगतमा चिनाउन पर्यटन व्यवसाय महत्वपूर्ण भएको बताउनुभएको छ । 

गन्तव्य नेपाल ग्रुपको १४ औं वार्षिकोत्सव तथा टुरिजम म्यान अफ दि इयर प्रदान कार्यक्रममा बोल्दै सभामुख महराले यस्तो बताउनुभएको हो ।

‘पर्यटन व्यवसाय नेपालको आर्थिक समृद्धिको आधार त हो नैै’, सभामुख महराले भन्नुभयो, ‘नेपालको भौगोलिक, ऐतिहासिक, साँस्कृतिक जनजीवन र सभ्यतालाई विश्व जगतमा चिनाउन पर्यटन व्यवसायले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

नेपालको पर्यटकीय स्रोत साधनका हिसाबले निकै धनी भएको भन्नुहुँदै सभामुख महराले नेपालको पर्यटन विकासका लागि स्पष्ट नीति र दृष्टिकोण चाहिएको बताउनुभयो । अबदेखि नेपालमा स्थायी सरकार बन्ने प्रक्रिया शुरु भएको भन्नुहुँदै उहाँले नेपालको पर्यटन व्यवसायलाई समृद्ध बनाउन सरकारले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटन प्रवद्र्धनका लागि आफ्नो ठाउँबाट गर्नुपर्ने कुनै पनि भूमिकामा कमी नहुनेमा जोड दिनुहुँदै सभामुख महराले भन्नुभयो, ‘पर्यटन व्यवसायलाई फस्टाउन आवश्यक पर्ने कानूनहरु के छन् ? बाधक के छ ? राज्यले सहजीकरण गर्ने ठाउँ के हो ? सरोकारवाला भएको हिसाबले तपाईहरुले प्रश्न उठाउनुस्, सरकारलाई घच्घच्याउनुस्, प्र्रस्ताव अघि बढाउन सहयोग गर्नुस् । मेरो तर्फबाट पर्यटन व्यवसायलाई अघि बढाउन मैले गर्नुपर्ने भूमिका निर्वाह गर्न तयार छु ।’ 

नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न, समृद्ध र समुन्नत बनाउन गन्तव्य नेपालले प्रभावकारी भूमिका निर्वाह गरिरहेकोमा खुसी व्यक्त गर्दै सभामुख महराले अवार्ड तथा सम्मान प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्नुभयो । 

गन्तव्य नेपालले २०१८ का लागि टुरिजम म्यान अफ दि इयर पर्यटन प्रवद्र्धक प्रतिष्ठा अमात्यलाई प्रदान गरेको छ । त्यस्तै विभिन्न क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।