पत्रकारिताको अबको मिसन देश र जनता : सभामुख


काठमाडौं, १५ जेठ । सभामुख कृष्णबहादुर महराले पत्रकारिताको मिसन देश र जनता हुनुपर्ने भएको बताउनुभएको छ । 

बुद्धभूमि मिडिया प्रा.लि.ले शुरु गरेको रिपोर्टनेपाल डट कमको मंगलबार उद्घाटन गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो ।

‘पत्रकारिताको आ–आफ्नै मिसन हुन्छ, सभामुख महराले भन्नुभयो, ‘साँचो अर्थमा पत्रकारिता गर्ने हो भने तपाईंहरुले देश र जनतालाई नबिर्सिनुस्, त्यसमै देशको मिसन पूरा हुन्छ । अबको पत्रकारिताको मिसन पनि देश र जनता नै हुनुपर्दछ ।’

अहिले अनलाइन मिडियाको मुख्य चुनौती विश्वसनीयता स्थापित गर्नु रहेको भन्दै सभामुख महराले मिडियाको विश्वसनीयता कति सत्य, तथ्य र निष्पक्ष हुन्छ, त्यसले नै निर्धारण गर्ने बताउनुभयो ।

तपाईंहरु कति सत्य, तथ्य र निष्पक्ष हुनुहुन्छ, त्यसले नै तपाईंहरुको विश्वसनीयता निर्धारण गर्छ, उहाँले भन्नुभयो, निष्पक्ष भएर पत्रकारिता गर्नुभयो भने विश्वासिलो र मर्यादित हुनुहुन्छ ।’

आफूले १० वर्षअघि सञ्चारमन्त्री रहँदा पत्रकारिता क्षेत्रसँग नजिक रहेर काम गरेको चर्चा गर्दै सभामुख महराले नेपाली पत्रकारिताका चुनौती र अप्ठ्याराहरुसँग परिचित रहेको बताउनुभयो । पछिल्लो समय मिडियाको संख्या निकै बढेको भन्दै उहाँले अनलाइन मिडियाहरु झनै छ्यापछ्याप्ती भएकोले भीडको बीचमा आफ्नै छुट्टै पहिचान बनाउन रिपोर्टनेपाललाई आग्रह गर्नुभयो ।

गणतन्त्र दिवसकै दिन शुरु भएको अनलाइन मिडियाले गणतन्त्रको संस्थागत विकास गर्ने देशको मिसनलाई पूरा गर्न पनि आग्रह गर्नुभयो । 

विगतमा राष्ट्रियता बिनाको लोकतन्त्र र लोकतन्त्र बिनाको राष्ट्रियता रहेको चर्चा गर्दै सभामुख महराले अहिले लोकतान्त्रिक गणतन्त्रमा राष्ट्रियता र लोकतन्त्र सँगसँगै रहेको बताउनुभयो । 

‘विगतमा राष्ट्रियता थियो, लोकतन्त्र थिएन, लोकतन्त्र थियो राष्ट्रियता थिएन, केन्द्रमा राजा–महाराजा र अमूक शक्ति थियो, उहाँले भन्नुभयो, ‘अहिले हामीले लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं, लोकतन्त्र र राष्ट्रियताको केन्द्र नेपाली जनता बनेका छन् ।’

लोकतान्त्रिक गणतन्त्रका निम्ति ठूलो संघर्ष र बलिदान भएको चर्चा गर्दै महराले जनताको शक्तिले मात्रै परिवर्तन सम्भव भएको बताउनुभयो ।