पशुपालन आर्थिक समृद्धिको महत्वपूर्ण पक्ष : सभामुख


काठमाडौं, ९ जेठ । सभामुख कृष्णबहादुर महराले पशुपालन क्षेत्र नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो भएको बताउनुभएको छ । 

नेपाल भेटेरीनरी एशोसिएसन नेपालको १३ औं राष्ट्रिय सम्मेलनको आज (बुधबार) काठमाडौंमा उद्घाटन गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो ।

नेपालको जनसंख्याको ठूलो हिस्सा कृषिमा आधारित रहेको भन्दै सभामुख महराले कृषि क्षेत्र पशुपालन र भेटेरीनरी सेवासँग अभिन्न रुपमा गाँसिएको बताउनुभयो । ‘नेपालको जनसंख्याको ठूलो हिस्सा कृषि पेशामा आधारित रहेको छ, उहाँले भन्नुभयो, ‘कृषि क्षेत्र पशुपालनसँग अभिन्नरुपमा गाँसिएको छ ।’

भेटेरीनरी एशोसिएसनले ५० वर्षको यात्रा पूरा गरेकोमा बधाई दिनुहुँदै सभामुख महराले देशको आर्थिक मेरुदण्डको एउटा पाटोको रुपमा संस्थाले गरिरहेको काम र सेवाको निरन्तरताका लागि आग्रह गर्नुभयो ।

३० वर्षअघि आफू पनि किसान भएको स्मरण गर्दै सभामुख महराले आफूले रोल्पामा कल्याण गाइपालन समूह खोलेर पशुपालन शुरु गरेको बताउनुभयो । ‘३० वर्षअघि म पनि किसान थिएँ, केशवजी भेटेरीनरी डाक्टर हुनुहुन्थ्यो । उहाँको पहलमा रोल्पाको लिबाङमा कल्याण गाई पालन समूह खोलेर विरगञ्जबाट ५ वटा होलस्टिन गाई ल्याई पालेका थियौं ।’

असल किसान बन्ने विगतको सपना अहिले सम्झिरहेको बताउँदै सभामुख महराले भन्नुभयो, ‘पशुपालन क्षेत्रमा केही राम्रो काम गर्ने र उन्नत गाउँ विकास गर्ने हाम्रो सपना थियो, परिस्थितिले म यहाँ आइपुगें, अहिले त्यो त्यो सपना सम्झिरहेको छु ।’

विगतमा गाई पालेको रोल्पाको आफ्नो जग्गाजमिन १० वर्षअघि निःशुल्क रुपमा पोलिटेक्निकल कलेजका लागि दिएको भन्दै सभामुख महराले गत वर्षदेखि त्यहाँ एनिमल साइन्सको पढाइ शुरु भएको बताउनुभयो । 

आफूले किसान भएर काम गर्न नसके पनि आफूले गाइपालन शुरु गरेको ठाउँमा अहिले एनिमल साइन्सको पढाइ हुनु आफ्नै सपना पूरा भएजस्तो लागेको महराले बताउनु भयो । १० महिनाअघि एनिमल साइन्सको कक्षा आफैले पढाएर शुरुवात गरेको उहाँले बताउनु भयो । 

देशका प्रत्येक किसान परिवारको न्यूनतम आयआर्जनको क्षेत्र पशुपालन क्षेत्र बनेको बताउँदै सभामुख महराले हरेक परिवारलाई आर्थिक रुपमा सक्षम बनाउन सके मात्रै नेपालको आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो ।

नेपालको संविधानले समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेको भन्दै राज्यले न्यून आय भएका कृषकहरुको आयआर्जन वृद्धिका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । भेटेरीनरी सेवालाई आम किसानको पहुँचसम्म पु¥याउन र सर्वसुलभ बनाउन राज्यले विशेष ध्यान दिनुपर्ने सभामुख महराले बताउनुभयो । 

कृषि, पशुपालन र भेटेरीनरी सेवासम्बन्धी कतिपय कानूनहरु नहुँदा काम गर्न अप्ठ्यारो भन्दै सभामुख महराले कानून निर्माणतर्फ तदारुकता दिन सरकारलाई आग्रह गर्नुभयो । 

‘कृषि, पशुपालन र भेटेरीनरी सेवासम्बन्धी कतिपय कानूनहरु नहुँदा काममा कठिनाइ भइरहेको छ, उहाँले भन्नुभयो, ‘सरकारले छिटोभन्दा छिटो ती कानून निर्माणका लागि विधेयकहरु सदनमा पेश गर्न र पास गर्न पहल गर्न म ध्यानाकर्षण गराउँछु ।’

उहाँले आफूले सभामुखको हैसियतले गर्न सक्ने सहजीकरण र सहयोगमा कुनै कन्जुस्याँई नगर्ने बताउनुभयो ।

नेपाल भेटेरीनरी एशोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले प्रकाशन गरेको स्मारिकालगायत अन्य पुस्तकहरुको प्रमुख अतिथि सभामुख महरालगायतले लोकार्पण गर्नुभएको थियो ।