Infrastructure Development Committee

परिचय:
    संसदीय प्रणालीमा समितिहरुलाई संसदको मेरुदण्डको रुपमा लिने गरिन्छ । संसदीय काम कारवाहीको प्रभावकारिता वृद्धि गर्न, संसदको अमूल्य समयको वचत गर्न, संसदभित्रैबाट संसदको अभिन्न अंगको रुपमा स्थापित संयन्त्र नै संसदीय समितिहरु हुन् । विधायिकाले सम्पन्न गर्नुपर्ने गहन र जटिल कार्यहरु, संसदको पूर्ण सदनमा हुने सीमित र औपचारिक छलफलबाट मात्र पूरा हुन सक्दैन । यसै गरी कार्यकारिणीलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउने, सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने, सरकारी आश्वासन, प्रत्यायोजित व्यवस्थापन, संवैधानिक निकायका वार्षिक प्रतिवेदन एवं समसामयिक विषयहरुमा छलफल र छानबिन गरी राय सुझfव सल्लाह र निर्देशन दिने, अनुगमन र मूल्यांकन गर्ने जस्ता कार्यहरु सभा आफैँले गर्दा समय बढी लाग्ने, कार्यबोझ अधिक हुने भएकाले यसलाई सहज र सरल तरिकाले नियमित र व्यवस्थित गर्न आवश्यकताअनुसार विषयगत समितिहरु गठन गरिएका हुन्छन् । यस्ता समितिहरुलाई संसदको हेल्पिङ ह्यान्डस् को रुपमा समेत लिने गरिन्छ । वर्तमान नेपालको संविधानले प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी द्विसदनात्मक संसदको व्यवस्था गरेको छ ।
  सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन तथा राय सल्लाह दिन संविधानको धारा ९७ बमोजिम प्रतिनिधि सभामा गठन गरिएका विभिन्न समितिहरुमध्ये पूर्वाधार विकास समिति एक हो ।

समितिको कार्य क्षेत्र :
क) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय                                 
ख) उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय  
ग) खानेपानी मन्त्रालय
घ) सहरी विकास मन्त्रालय​
समितिको गठन :
     प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७५ को उपनियम (१) बमोजिम समितिमा पदेन सदस्य  बाहेक २७ (सत्ताईस) जना सदस्य रहने व्यवस्था छ । प्रधानमन्त्री सबै समितिको र समितिको कार्यक्षेत्रसँग सम्बन्धित मन्त्री सो समितिको पदेन सदस्य हुने व्यवस्था प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७५ को उपनियम (३) मा उल्लेख गरिएको छ । समितिमा सदस्यहरुको मनोनयन गर्दा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या, महिला, दलित, आदिवासी जनजाति, खस-आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय समेतको समानुपातिक प्रतिनिधित्वको आधारमा गरिने व्यवस्था रहेको छ ।
 

समिति सचिवालय :
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १९२ मा समितिको सचिवालय सम्बन्धी व्यवस्था रहेको छ । स‌घीय संसद सचिवालय अन्तर्गत समितिको सचिवालय रहने छ । महासचिवले आफू मातहतको वरिष्ठ अधिकृतलाई समितिको सचिव भई काम गर्न तोक्न सक्ने व्यवस्था छ । समिति सचिवले पदेन सचिवको रुपमा रही काम गर्नेछ । समितिको सचिवले समितिको कार्य सम्पादनमा सहयोग पुर्याउन सम्बन्धित मन्त्रालय, विभाग वा अन्य निकायसँग आवश्यक जानकारी माग्न सक्ने व्यवस्था रहेको छ । यस समिति सचिवालयमा हाल कार्यरत कर्मचारीहरु देहाय बमोजिम रहेका छन् ।
 
क्र.सं. नाम/थर पद सम्पर्क
१. उदयकुमार भण्डारी समिति सचिव 9851075059
२. लक्ष्मीदेवी भण्डारी शाखा अधिकृत 9841828700
३. नगेन्द्र बहादुर बुढा नायव सुब्बा 9848097460
४. मुना कडरिया कार्यालय सहयोगी 9869815931
५. सचिवालय   01-4200419, 4200121