सार्वजनिक लेखा समिति

 

सार्वजनिक लेखा समितिको कार्यक्षेत्र तथा  काम, कर्तव्य र अधिकारहरू :- 

कार्यक्षेत्र :–

  • सार्वजनिक लेखा,
  • महालेखापरीक्षकको वार्षिक प्रतिवेदन,
  • सम्बद्ध विषय तथा निकाय ।

काम, कर्तव्य र अधिकारहरू :–

प्रतिनिधि सभा नियमावली २०७९, को नियम १७८ मा व्यवस्था गरिए अनुसार समितिको काम, कर्तव्य र अधिकारहरू निम्नानुसार  रहेका छन्:–

  • मन्त्रालय, विभाग र अन्तर्गतका निकायको सार्वजनिक लेखासँग सम्बन्धित नीति तथा कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापन र अरू यस्तै क्रियाकलापको मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने तथा समुचित टिप्पणी, सिफारिस र निर्देशन सहितको वार्षिक प्रतिवेदन बैठकमा पेश गर्ने,

  • मन्त्रालय, विभाग तथा अन्तर्गतका निकायको राजस्व र व्यय सम्बन्धी अनुमानको जाँच गरी वार्षिक अनुमान तयार गर्ने, वार्षिक अनुमानमा निहित नीतिको सट्टा अपनाउन सकिने वैकल्पिक नीति र वार्षिक अनुमानमा रहेको रकममा के-कति किफायत गर्न सकिन्छ भन्ने सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र आफ्नो राय सहितको वार्षिक प्रतिवेदन बैठकमा पेश गर्ने,
  • मन्त्रीले सरकारको तर्फबाट बैठकमा सार्वजनिक लेखासँग सम्बन्धित विषयमा समय–समयमा दिएका आश्वासनलाई पूरा गर्न नेपाल सरकारद्वारा के–कस्ता कदम उठाइएका छन् सो सम्बन्धमा अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र बैठकमा प्रतिवेदन पेश गर्ने,
  • सार्वजनिक लेखा र महालेखापरीक्षकको वार्षिक प्रतिवेदनसँग  सम्बन्धित सरकारी निकायको सार्वजनिक सम्पत्तिको हिनामिना भए, नभएको अध्ययन, अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन दिने र बैठकमा प्रतिवेदन पेश गर्ने,
  • सभाद्वारा प्रत्यायोजित अधिकार अन्तर्गत बनाइएको नियम, संविधान, सम्बन्धित ऐन, प्रचलित कानून बमोजिम बनेको छ वा छैन, र सरकारद्वारा प्रचलित ऐन, नियम अनुरुप काम भए गरेको छ वा छैन भन्ने विषयमा मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने,
  • सरकारद्वारा समय–समयमा गठन हुने छानबिन आयोग समिति र जाँचबुझ आयोग समितिद्वारा प्रस्तुत प्रतिवेदन कार्यान्वयनको अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने,
  • मन्त्रालय, विभाग र अन्य निकायबाट सम्पादन भएका कामको अनुगमन तथा मूल्याङ्कन गरी सो सम्बन्धमा आवश्यक निर्देशन दिने, 
  • समितिको सिफारिसमा सभामुखबाट अनुमोदित कार्यक्रम र बजेटको अधिनमा रही समितिका कार्यक्रमहरु सञ्चालन गर्ने,
  • सार्वजनिक लेखा समितिले आफ्नो कार्य सम्पादन गर्दा सम्बन्धित मन्त्रालय तथा विभाग, आयोग र निकायका प्रतिनिधि र आवश्यक परे तत्-तत् विषयका विशेषज्ञहरुसँग समेत छलफल गर्ने,
  • सार्वजनिक लेखा र महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने सम्बन्धमा आफ्नो जिम्मेवारी सु–व्यवस्थित ढङ्गले बहन गर्ने सन्दर्भमा आवश्यक कार्यविधि, कार्ययोजना र कार्यतालिका बनाई लागू गर्न सक्नेछ,
  • सार्वजनिक लेखा समितिले सभामा पेश गरिएको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लिखित बेरुजुको जाँच गरी महालेखापरीक्षकद्वारा सम्पादित कामकारबाही र सो सम्बन्धमा सम्बन्धित निकायबाट हुनुपर्ने कामकारबाही कानून सङ्गत र औचित्यपूर्ण तवरबाट भए नभएको सम्बन्धमा समेत अध्ययन गरी आवश्यक निर्देशन दिन सक्नेछ,
  • समितिको कार्य सम्पादनको सिलसिलामा समितिका सदस्यले सभामुखको पूर्व स्वीकृती लिई आवश्यक स्थानको भ्रमण गर्न सक्नेछन् । यस्तो स्वीकृति माग गर्दा भ्रमण गर्नुपर्ने कारण स्पष्ट खुलाईएको हुनुपर्ने,
  • समितिले बैठकमा प्रस्तुत गर्नुपर्ने वार्षिक प्रतिवेदन वार्षिक अनुमान पेश हुनु अगावै र अरू प्रतिवेदन जुनसुकै समयमा प्रस्तुत गर्न सक्ने,
  • बैठकले सुम्पेका अन्य विविध कार्यहरु गर्ने ।