कार्यव्यवस्था महाशाखा (राष्ट्रिय सभा )
यस महाशाखाले आफू अन्तर्गत रहेको कार्यव्यवस्था शाखा, प्रश्न व्यवस्थापन शाखा र सम्पूर्ण विवरण शाखाको कामलाई निरिक्षण, सुपरिवेक्षण एवं निर्देशन गर्नुकाे अतिरिक्त कार्यव्यवस्था परामर्श समितिको बैठक व्यवस्थापन गर्ने कार्य समेत गर्दछ ।
महाशाखाले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम उल्लेख गर्न सकिन्छ –
- कार्यव्यवस्था परामर्श समितिको बैठक व्यवस्थापन सम्बन्धी कार्य, राष्ट्रिय सभाकाे बैठकमा पेश हुने विषयहरुको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढंगले संचालन गर्ने सम्बन्धमा र अध्यक्षले आवश्यक ठहर्याएको अन्य विषयमा परामर्श दिन यो समिति गठन हुने व्यवस्था छ । कार्यव्यवस्था परामर्श समितिको उपर्युक्त बमोजिम बस्ने बैठकलाई व्यवस्थित ढंगले संचालन गर्ने कार्यमा सम्माननीय अध्यक्षलाई सहयोग गर्ने, बैठक व्यवस्थापनमा समन्वय कायम गर्ने, बैठकको निर्णयहरु सम्माननीयज्यूबाट प्रमाणित गराई सुरक्षित ढंगले राख्ने व्यवस्था मिलाउन लगाउने, कार्यान्वयन गर्नुपर्ने निर्णयहरु सम्बन्धित निकायहरुमा पठाउन लगाउने, समिति अन्तर्गत गठित उपसमितिहरुको बैठक व्यवस्थापनमा समन्वय गर्ने, समितिको परामर्श अनुसार सदनको बैठक संचालनमा उपाध्यक्षलाई सहयोग गर्ने लगायतको काममा समन्वय गर्ने, अन्तर्गत निकायहरुलाई निर्देशन दिने कार्य यस महाशाखाले सम्पादन गर्ने गर्दछ ।
- राष्ट्रिय सभाकाे बैठकमा पेश हुने कार्यक्रम निर्धारण गरी दैनिक कार्यसूची तयार गर्न लगाउने,
- बैठकमा पेश हुने विभिन्न कार्यक्रमहरु व्यवस्थित गर्ने कार्यको सुपरिवेक्षण गर्ने,
- राष्ट्रिय सभाकाे बैठकमा पेश हुने विधेयकको प्रस्तुति देखि पारित सम्मका चरणहरुलाई सुव्यवस्थित रुपमा बैठकको कार्यक्रममा राख्न लगाउने,
- बैठकमा प्रस्तुत हुने विभिन्न कार्यक्रमहरु सुव्यवस्थित गर्ने सम्बन्धमा मन्त्रालयहरुसँग आवश्यक समन्वय गर्ने,
- बैठकको दैनिक कार्यसूची र सूचना पत्र तयार गर्न लगाई माननीय सदस्यहरुलाई उपलब्ध गराउने,
- बैठकका कार्यक्रमहरुबारे सम्माननीय अध्यक्षज्यू, माननीय उपाध्यक्षज्यू, महासचिवज्यू र सचिवज्यूलाई अवगत गराउने,
- राष्ट्रिय सभाको प्रत्येक अधिवेशनको सम्पूर्ण विवरण तयार गर्न लगाउने,
- दैनिक कार्यसूची, सूचना पत्र र कार्यवृत्त (जर्नल) सम्बन्धी अभिलेख पुस्तिका तयार गर्न लगाउने, र
- सम्माननीय अध्यक्षज्यू, माननीय उपाध्यक्षज्यू, महासचिवज्यू र सचिवज्यूबीच सम्पर्क शुत्रको रुपमा काम गर्ने ।