कार्य व्यवस्था शाखा (राष्ट्रिय सभा)
यस शाखाले सम्पादन गर्ने कार्यहरु बुँदागत रुपमा देहाय बमोजिम उल्लेख गरिएको छः–
Ø राष्ट्रिय सभाको अध्यक्षको निर्देशन एवं कार्यव्यवस्था परामर्श समितिको निर्णयानुसार बैठकको कार्यसूची तयार गरी राष्ट्रिय सभा सदस्य लगायत सम्बन्धित पदाधिकारीहरुलाई वितरण गर्ने ।
Ø बैठक संचालनको लागि विद्यमान राष्ट्रिय सभा नियमावलीमा निर्धारित प्रक्रियाहरुलाई लिपिवद्ध गरी राष्ट्रिय सभाको दैनिक कार्यसूची अनुसार बैठक संचालनका लागि वाचन पत्र तयार गर्ने ।
Ø अघिल्लो बैठकको संक्षिप्त विवरण समावेश भएको सूचनापत्र तयार गरी वितरण गर्ने ।
Ø बैठक अवधिको कार्यवृत्त (जर्नल) तयार गरी सम्बन्धित पदाधिकारी एवं पुस्तकालय शाखालाई उपलव्ध गराउने एवं अभिलेख राख्ने ।
Ø माननीय सदस्यहरुबाट प्राप्त बैठकमा अनुपस्थित रहने सूचना नियमानुसार अध्यक्षबाट तथा बैठकबाट स्वीकृत गराउने व्यवस्था गर्ने ।
Ø संसदीय दलहरुबाट प्राप्त संसदीय दलका नेता तथा पदाधिकारीहरुको नियुक्ति, राजिनामा एवं हेरफेर भएको पत्रहरुलाई कार्यव्यवस्था परामर्श समितिको बैठक समक्ष प्रस्तुत गर्ने ।
Ø कार्यव्यवस्था परामर्श समितिको बैठक संचालनमा सहयोग पु-याउने र निर्णयहरु सम्बन्धित निकाय, पदाधिकारी एवं शाखाहरुलाई जानकारी गराउने ।
Ø राष्ट्रिय सभामा समय समयमा गठन हुने विशेष समिति, जाँचबुझ समिति, छानविन समिति तथा सभाले गठन गर्न सक्ने अन्य समितिहरु गठन गर्ने प्रस्तावहरु पेश गर्ने साथै निर्णयानुसार माननीय सदस्यहरुलाई वितरण गर्ने र बैठक समक्ष पेश गर्ने व्यवस्था मिलाउने ।
Ø नियमावलीले निर्देशित गरे बमोजिम बैठकमा पेश हुने विभिन्न किसिमका प्रस्तावका फारामहरु तयार गरी आवश्यकतानुसार माननीय सदस्यहरुलाई उपलब्ध गराउने ।
Ø माननीय सदस्यहरुबाट प्राप्त विभिन्न किसिमका प्रस्तावहरु दर्ता गर्ने, सम्बन्धित मन्त्रालयमा पठाउने, उत्तर प्राप्त गर्ने र राष्ट्रिय सभाका अध्यक्ष र कार्यव्यवस्था परामर्श समितिको निर्णयानुसार प्रस्तावसँग सम्बन्धित मन्त्री एवं सदस्यसँग परामर्श गरी बैठकमा पेश गर्ने, प्रस्तावमाथि छलफल गराउने र आवश्यक निर्णयको लागि व्यवस्था मिलाउने ।
Ø नियमावलीले निर्देशित गरे बमोजिम उक्त प्रस्तावहरु उपर माननीय सदस्यहरुबाट प्राप्त हुने संशोधनका फारामहरु वितरण गर्ने, संशोधनहरु दर्ता गर्ने एवं बैठकमा पेश गर्ने व्यवस्था मिलाउने ।
Ø विधेयक शाखाबाट प्राप्त विधेयकहरु नियमावलीले निर्देशित गरे बमोजिम बैठकमा पेश गर्ने व्यवस्था मिलाउने र छलफलका विभिन्न चरणहरु पार गर्दै बैठकबाट पारित गराउने सम्मका कार्यहरु गर्न व्यवस्था मिलाउने ।
Ø विधेयक शाखाबाट प्राप्त अन्तर्राष्ट्रिय सम्झौता, सन्धी, महासन्धिहरुलाई राष्ट्रिय सभाको बैठकबाट सम्मिलन, स्वीकृति वा समर्थन गराउन प्रस्ताव तयार गरी बैठकमा पेश गर्ने व्यवस्था मिलाउने ।
Ø अधिवेशन नभएको समयमा जारी भएका अध्यादेशहरु बैठक बसेपछि पेश गरी स्वीकृत गराउन आवश्यक व्यवस्था मिलाउने ।