१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सम्माननीय सभामुखज्यूको शुभकामना सन्देश


शुभकामना

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक बधाई ज्ञापन गर्दछु । महिलाले आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्न जीवन आहुति दिनुहुने सबैप्रति उच्च सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
 
नेपाली समाजको सकारात्मक परिवर्तनका लागि नेपाली नारीहरुले खेलेको भूमिका अतुलनीय र प्रशंसनीय छ । महिला जनप्रतिनिधिहरुको उल्लेख्य प्रतिनिधित्व र सक्रिय भूमिकाबाट संविधान सभामार्फत् निर्माण भएको संविधानले सबै खालका लैंगिक विभेदको अन्त्य गरेको छ । राज्यका हरेक निकायमा समानुपातिक, समावेशी र सहभागितामूलक सहभागिताको हक सुनिश्चित भएको छ । इतिहासका खास–खास कालखण्डमा नेपाली महिलाहरुले देखाएको अदम्य साहस, कठीन संघर्ष र बलिदानका कारण यी उपलब्धि हासिल भएका हुन् ।
 
तर, यी उपलब्धिहरु व्यवहारमा पूर्ण रुपमा प्रतिविम्वित हुन नसकेको यथार्थ हाम्रासामु छ ।  संविधानअनुसार सबै निकायमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नु, विभिन्न रुपमा रहेका महिला हिंसा अन्त्य गर्नु, हानिकारक परम्परागत कुरीतिहरु रोक्नु र सारमा महिलाले सम्मानपूर्ण नागरिकका रुपमा बाँँच्न र फक्रिन पाउने समतामूलक समाज निर्माण आजको मुख्य कार्यभार बन्न पुगेको छ ।
 
भनिन्छ कुनै समाज कति समातामूलक छ भनेर जान्न त्यहाँ महिलाको अवस्था कस्तो छ भन्ने कुराले निर्धारण गर्छ । तसर्थ, यस दिवसले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी स्वतन्त्रता, समानता, सामाजिक न्याय स्थापित गर्न थप उर्जा प्रदान गर्नेछ भन्ने शुभकामना व्यक्त गर्दछु ।
 
२०७७।११।२४ (८ मार्च २०२१)
अग्निप्रसाद सापकोटा