नयाँ बर्ष २०७८ को अवसरमा सम्माननीय सभामुखज्यूको शुभकामना सन्देश


नव बर्ष २०७८ को शुभकामना !

नव बर्ष २०७८ साल प्रारम्भको अवसरमा सबै नेपाली दिदीबहिनी एवं दाजुुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हामीले मानव सभ्यता र अस्तित्वलाई नै चुनौती खडा हुनेगरि फैलिएको कोभिड–१९ को महामारी, ठूला ठूला प्राकृतिक विपत्ति र संवैधानिक संकट बेहोरेर विक्रम सम्वत् २०७७ साललाई बिदा गरेका छौं । संकट अझ टरेको छैन, हामीले गत बर्षभन्दा अझ बढी सजक र सतर्क भएर अघि बढ्नुपर्ने अवस्था छ । महामारीविरुद्ध संघर्ष जारी छ, सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि अधिक पूर्व तयारी गर्नु पर्ने छ ।

संविधान सभामार्फत् नयाँ संविधान जारी भएपछि हामी यसको कार्यान्वयनको चरणमा छौं । संविधानको मर्म, भावना अनुसार गर्नु पर्ने धेरै काम बाँकी नै छन् । जनअपेक्षा अनुसार काम गरेर जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्नु परेको छ । मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व कायम होस भन्ने जनचाहना सहितको समृद्धिको यात्रा अगाडि बढाउन राजनीतिक दलहरुबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुनेछ भन्ने अपेक्षा गरेको छु । सकारात्मक परिवर्तनका लागि आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने विश्वास लिएको छु । अग्रगामी निकासका लागि हाम्राबीचमा दृढ संकल्प आवश्यक छ । प्रतिबद्धताहरु व्यवहारमा देखिए मात्रै विश्वासको आधारशिला तयार हुने छ । संसदलाई जीवन्त र जनमुखी बनाउन संघीय संसदको नेतृत्वको हैसियतले सबैखाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

विधि र नीतिको सर्वोपरितालाई स्वीकार्ने संस्कार विकासमा अभिप्रेरित हुँदै दलहरुभित्र विधिलाई लोकतान्त्रिक, पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भैरहने छ भन्ने आशा पनि गरेको छु । अनुशासित भएर कोभिडलाई जित्ने प्रणसहित शुभकामना आदान प्रदान गरेर नयाँ बर्ष मनाउन सबैमा अपिल गर्दछु ।  

२०७८।०१।०१   
अग्निप्रसाद सापकोटा