अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्माननीय सभामुखज्यूको शुभकामना सन्देश


श्रमिक दिवसको शुभकामना
 
१३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दछु । मजदुर तथा श्रमजीवी वर्गको एकता, संङ्घर्ष र बलिदानबाट आफ्ना हक अधिकार प्राप्त गरेको स्मरणमा हरेक वर्ष मनाइने यस दिवसको अवसरमा नेपालमा लोकतन्त्र, अग्रगमन तथा साामजिक न्यायका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको कदर गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।  

गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण दैनिक छाक टार्न मजदुरी गरेर जीविकोपार्जन गरिरहेका, असंगठित र संगठित क्षेत्रका श्रमिकहरुले रोजगारी गुमाउनु परेको छ । यो क्रम अझै भयावह बन्दै छ । केही सुधारको अपेक्षाका बीच हामी फेरि कोरोनाको दोस्रो लहरको सामना गरिरहेका छौं ।

श्रमिक वर्गका अगाडि कोभिड–१९ सँगै भोकमरीबाट बाँच्नु पर्ने चुनौती छ । कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था छ । रोजगारीका लागि देश बाहिर पुगेका हजारौं नेपाली श्रमिकहरु रोजगारी गुमाएर स्वदेश फर्किरहेका छन । यस्तो कठिन अवस्थामा राज्यका तर्फबाट श्रमजीवी मजदुर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउनु आवश्यक छ ।

श्रमिक वर्गको ठूलो योगदानबाट बनेको संविधानमा सुनिश्चित श्रमिक मजदुरका हक अधिकार प्रयोगका लागि यो वर्गको एकतावद्ध प्रयास जारी रहने अपेक्षा छ । संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु वर्तमानको महत्वपूर्ण कार्यभार हो । सरोकारवाला सबैले श्रमिक वर्गका हितका लागि गम्भीरतापूर्वक सोच्ने र श्रमिकमैत्री वातावरण बनाउन योगदान गर्ने विश्वास लिएको छु ।

उपलब्ध स्रोत साधनको उच्चतम प्रयोगमार्फत् स्वदेशमा अवसरको सुनिश्चितता, श्रम अनुसारको पारिश्रमिक एवं सामाजिक सुरक्षाको पक्षमा संघीय संसद् सदैव रहेको विश्वास दिलाउँदै यो दिवसले श्रमिक मजदुरको हक, हित र अधिकार स्थापित गर्न योगदान गर्ने अपेक्षा गरेको छु ।
२०७८/०१/१८
(मे १, २०२१) 
 
अग्निप्रसाद सापकोटा