संसद दिवसका अवसरमा वृक्षारोपण


संसद दिवसका अवसरमा सभामुखद्वारा सचिवालय परिसरमा वृक्षारोपण
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज सिंहदरबारस्थित संघीय संसद परिसरमा वृक्षारोपण गर्नु भएको छ ।
संसद दिवस २०७८ का अवसरमा सभामुख सापकोटाले सचिवालयको बगैंचामा रुद्राक्षको विरुवा रोप्नु भएको हो । कोभिड जोखिमका कारण दिवस मनाउन ठूलो कार्यक्रम नराखिएको बताउँदै उहाँले जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षारोपण कार्यक्रम रोजिएको बताउनु भयो ।
‘पृथ्वीको उत्पत्ति भएदेखि नै रुख, विरुवा धेरै महत्वपूर्ण छ , महान दार्शनिक एवं महान धर्तीपुत्र गौतम बुद्धले पनि रुख, विरुवालाई धेरै महत्व दिनुभएको छ’ सभामुख सापकोटाले भन्नुभयो ‘प्रतिकुल अवस्थामा यसको महत्वलाई दर्शाउँदै संस्थाको दिवस मनाउन वृक्षारोपणको कार्यक्रम गरिएको हो ।’
सभामुख सापकोटाले वातावरणबाट हुने असरबाट मुक्त हुन वृक्षारोपणमा सहभागि हुन सबैमा अपिल समेत गर्नु भएको छ । उहाँले भन्नुभयो ‘वातावरण अनुकूल बनाउन आफ्नो अनुकूल ठाउँमा कम्तिमा एउटा विरुवा रोपेर हुर्काउन सबैलाई अपिल गर्दर्छु ।’
सो अवसरमा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाल, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सचिवालयका सचिवहरु ध्रुब घिमिरे, सुदर्शन खड्कालगायतले पनि सचिवालय परिसरमा वृक्षारोपण गर्नु भयो ।
२०७८ असार १६