बैंक खाता परिवर्तन सम्बन्धमा संघीय संसद सचिवालयको प्रेस विज्ञप्ति २०७८ श्रावण १७


प्रेस विज्ञप्ति
लामो समयको अथक प्रयत्न पछि नीजि बैंकबाट हुँदै आएको संघीय संसद सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्न प्रारम्भ गरिएको छ ।
यस अघि संघीय संसद्को बैठकमा माननीय सदस्यहरूले पटक पकट सरकारी खाता निजी बैंक मार्फत सञ्चालन गरिएको बिषय उठाउनु भएको र अन्य सार्वजनिक कार्यक्रमहरु र संचार माध्यमहरुमा समेत यो बिषय उठान भएको थियो । यस विषयमा कुरा उठे पनि कार्य प्रगति हुन सकिरहेको थिएन । संसद र अन्य माध्यमहरुमा कुरा उठे पश्चात सम्मानीय सभामुखज्यूको गम्भीर ध्यानाकर्षण भई यस सम्बन्धमा उहाँको निर्देशन मुताविक संघीय संसद सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको बैंक, राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।
२०७७ माघ ११ को पत्रबाट आर्थिक बर्षको बिचमा खाता परिवर्तन गर्न कठिनाई हुने जनकारी अर्थ मन्त्रालयबाट प्राप्त भएको थियो । सचिवालयले २०७८ असार ३१ गते पुनस् ताकेता गरी खाता परिवर्तनका लागि अनुरोध गरेको थियो । सम्माननीय सभामुखको यो पहल पछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालय मार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मार्फत संचालन गर्न निर्देशन दिएको छ । त्यसै गरि राष्ट्रिय बाणिज्य बैंकलाई समेत सिंहदरवार शाखाको स्तरोन्नति र सेवा सुबिधा विस्तरको लागि समेत अनुरोध गरिएको छ । यस अघि सरकारी खाताहरु एभरेष्ट बैंक मार्फत संचालन गरिएको थियो ।
संघीय संसद सचिवालय सम्माननीय सभामुखज्यू, माननीय अर्थ मन्त्रीज्यू लगायत यस कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण निकायका पदाधिकारीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
डा. रोजनाथ पाण्डे
प्रवक्ता
२०७८ श्रावण १७
No photo description available.