राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ को शुभकामना


 
प्रजातन्त्र दिवसको शुभकामना

राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ का अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।

यस अवसरमा देशमा लोकतन्त्र प्राप्ति एवं राष्ट्रियताको संवद्र्धनका लागि विभिन्न समयमा भएका संघर्षहरुमा जीवन आहुति दिनु भएका सम्पूर्ण महान् सहिदहरुप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । लोकतन्त्र प्राप्तिका लागि भएका सबैखाले संघर्षका क्रममा घाइते, अपाङ्ग हुनुभएका र तत्कालीन राज्यबाट बेपत्ता पारिनुभएका सम्पूर्ण योद्धाहरुको अमूल्य योगदानकोे स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

हामी सात दशक यताका सबैखाले संघर्ष र आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुको साँचो अर्थमा कार्यान्वयनको चरणमा छौं । यस क्रममा हाम्रा सामु थुप्रै चुनौती देखा परेका छन् । चुनौतीहरुको सामना गर्दै लोकतन्त्रका मूल्य, मान्यता र आदर्शहरुलाई स्थापित गर्नु अहिलेको मुख्य कार्यभार हो । लोकतन्त्र सिद्धान्तसँगै हाम्रो चिन्तन, जीवन पद्धति, व्यवहार र पुस्तान्तरणको महत्वपूर्ण संस्कार समेत हो । यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहनु अनिवार्य हुन्छ ।  

लोकतन्त्रको समीक्षा यसको अभ्यासमा आधारित रहन्छ । जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुन्छ । लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो । थप सजग र सचेत भएर लोकतन्त्रको संस्थागत अभ्यास सुनिश्चित गर्न सक्दा नागरिकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छु ।  
 
अन्त्यमा, यस महत्वपूर्ण अवसरमा संविधानको मर्म र भावना अनुसार अघि बढ्न एवं लोकतन्त्रको उन्नत अभ्यासका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।  
२०७८।११।०७ 
                                                                                      अग्निप्रसाद सापकोटा