२०७८ फागुन ८ गतेको प्रतिनिधि सभाको बैठकमा सभामुखको रुलिङ्


 
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाल २०७८ फागुन ८ गते आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा गर्नु भएको रुलिङ्

‘मा० सदस्यहरु
विगत लामो समयदेखि जारी अवरोधका कारण संसद सुचारु हुन सकिरहेको छैन । यसबाट राज्य सञ्चालनका सम्पूर्ण पक्ष र आयामहरुमा प्रभाव परिरहेको छ । राष्ट्रिय महत्वका विषयवस्तुहरुलाई समेत छलफलमा ल्याई निष्कर्षमा पुग्नुपर्ने अवस्थामा जारी अवरोधले प्रतिकुलता सिर्जना गरेको व्यहोरा हामीलाई अवगत नै छ ।
दलका शीर्ष नेताहरु, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, बुद्धिजिवी एवं लब्धप्रतिष्ठित व्यक्ति व्यक्तित्वहरुको सार्वभौम संसदमा छलफल होस भन्ने भावनाको समेत सम्मान गर्दै नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुन्छ भन्ने लागेको हुँदा अहम् महत्वका विषयहरुलाई आजको कार्यसूचीमा समावेश गरिएको छ ।
सोही मान्यतालाई आत्मसात् गर्दै छलफलको वातावरण बनाउन सम्बद्ध सबैलाई सहयोगको लागि अपिल गर्दछु । साथै कार्यसूचीलाई अगाडि बढाउन यहाँहरुबाट सहयोग हुने आशा एवम् विश्वास राख्दछु ।’
२०७८ फागुन ११