सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट


सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट
काठमाडौं २५ फागुन
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष HE Véronique Riotton नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच ७३ बर्ष देखिको कुटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको बताउनु भयो । उहाँले कोभिड १९ विरुद्ध लड्न फ्रान्सले चिकित्सा क्षेत्रमा र कोभ्याक्स अन्तरगतको सहयोगका लागि फ्रान्स सरकार र फ्रान्सेली जनतालाई धन्यवाद ज्ञापन गर्नु भयो । सभामुख सापकोटाले नेपालको आर्थिक र सामाजिक विकासमा फ्रान्सको सहयोगका लागि आभार व्यक्त गर्दै कोभिड पछिको आर्थिक पुनरुत्थानमा सहयोग रहने विश्वास व्यक्त गर्नु भयो ।
सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच पर्यटन, कृषि र व्यापारको क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको चर्चा गर्नु भयो । उहाँले नेपालले सन् २०२६ मा कम विकसित राष्ट्रको स्थितिबाट स्तरोन्नतिका लागि दुई देशबीचको साझेदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो । स्वतन्त्रता, समानता र भातृत्वका विषयमा नेपाल र फ्रान्सको समान दृष्टिकोण रहेको बताउँदै उहाँले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउनु पर्नेमा जोड दिनु भयो ।
जलवायु परिवर्तनका कारण सृजित समस्या सम्बोधनका लागि फ्रान्सको भूमिका महत्वपूर्ण हुने बताउँदै सभामुख सापकोटाले सन् २०१५ को पेरीस सम्झौता स्मरणीय रहने बताउनु भयो । शान्तिका लागि सहकार्य र समझदारी आवश्यक रहेको बताउँदै उहाँले भन्नु भयो ‘बुद्धको देशको सभामुखको हैसियतले भन्छु, विश्व शान्तिका लागि सबैले आ–आफ्नो स्थानबाट पहल गरौं ।’
भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष HE Véronique Riotton ले आफ्नो टिमलाई नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्दै सम्मानित महसुस गरिरहेको बताउनु भयो । दुई देशबीच आपसी सहयोग र सहकार्यका लागि छलफल गरेर क्षेत्र छनौट गर्न सकिने उहाँको भनाई थियो ।
प्रतिनिधिमण्डलमा सहभागी अन्य सदस्यहरुले फ्रान्सको तल्लो सदन नेसनल एसेम्ब्लीले गरेका अभ्यासहरुबारे जानकारी गराउँदै दुई पक्षीय भ्रमण आदान प्रदानबाट दुबै संसदका लागि सिकाइको अवसर हुने धारणा राख्नु भएको थियो । फ्रान्सेली प्रतिनिधि मण्डलमा मैत्री समूहका अध्यक्ष  HE Véronique Riotton, सदस्यहरु Greziella, Nicolas FORISSIER र नेपालका लागि फ्रान्सका महामहिम राजदुत  Gilles BOURBAO  सहभागी हुनुहुन्थ्यो ।