गणतन्त्र दिवस २०७९ को शुभकामना


गणतन्त्र दिवस २०७९ को अवसरमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको शुभकामना सन्देश
........................................................................................
गणतन्त्र दिवस २०७९ को शुभकामना

१५ औं गणतन्त्र दिवसका अवसरमा देश विदेशमा रहनुुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । वि.सं २०६५ जेठ १५ गते संविधानसभाको ऐतिहासिक पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र परिवर्तनकामी सचेत नेपाली जनताको असाधारण बलिदानीपूर्ण संघर्षहरुको प्रतिफल हो ।

यस महत्वपूर्ण दिनमा गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध र जनआन्दोलनहरुमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । गणतन्त्र प्राप्तिको लामो र कठिन संघर्षमा घाइते तथा अपाङ्ग भएकाहरु एवं बेपत्ता योद्धाहरुको बलिदानीभावको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेहरुको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन र परिवर्तित व्यवस्थाप्रति आम नागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायहरुमा रहेका पदाधिकारीहरुमा अधिक जिम्मेवारीबोध हुन आवश्यक छ ।

संविधान अनुरुप सबै प्रकारका विभेद र उत्पीडनहरुको अन्त्य गर्ने दायित्व पूरा गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो छ । राज्य संयन्त्रमा भएका परिवर्तनहरु सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन हुन आवश्यक छ ।

यस महान् दिनबाट हामी सबैमा राष्ट्रहित, गणतन्त्र, संविधानसहितका उपलब्धिहरुको रक्षाका लागि एकजुट हुने प्रेरणा मिलोस् ।

सम्पूर्ण नेपालीजनमा हार्दिक बधाई एवं शुभकामना !
२०७९।०२।१५                                                                
                                                                            अग्निप्रसाद सापकोटा