असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेको छ : सभामुख सापकोटा


 
असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेको छ : सभामुख सापकोटा  
१६ असार, बाकु
 
सभामुख अग्निप्रसाद सापकोटाले भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा ‘असंलग्न आन्दोलन’को सान्दर्भिकता अझ बढेको बताउनु भएको छ ।अजरबैजानको राजधानी बाकुमा जारी ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल (Non-Aligned Movement's Parliamentary Network_)’ को सम्मेलनलाई नेपालको संसदीय प्रतिनिनिधि मण्डलका तर्फबाट नेपाली समय अनुसार आज साँझ सम्बोधन गर्दै उहाँले असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन नेपालको सहयोग  र ऐक्यवद्धता व्यक्त गर्नु भयो ।‘नेपालको प्रतिनिधिमण्डलका तर्फबाट सहयोग र ऐक्यबद्धताको बढ्दो स्तरको लागि असंलग्न आन्दोलनका सदस्यहरुसँग मिलेर काम गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।  प्रगति, समृद्धि, न्याय र समानतामा आधारित साझा भविष्यका लागि हामी आन्दोलनका नेताहरूलगायत विश्वका सबै नेताहरूलाई हातेमालो गर्न आह्वान गर्दछौं ।’ सभामुख सापकोटाले आफ्नो सम्बोधनमा भन्नु भयो ।सभामुख सापकोटाले नेपालको संविधानले असंलग्नतालाई परराष्ट्र नीतिको अभिन्न अंगको रूपमा समेटेको जानकारी गराउँदै भन्नुभयो ‘नेपाल असंलग्न आन्दोलनको सिद्धान्तलाई कायम राख्नुपर्छ, न्यायपूर्ण विश्वको समर्थनमा आवाज उठाउनु पर्छ र कमजोर देशहरूको लागि समर्थन सुनिश्चित गर्नुपर्छ भन्ने दृढ धारणा राख्दछ ।’सम्बोधनका क्रममा सभामुख सापकोटाले ‘असंलग्न आन्दोलन संसदीय सञ्जाल’ आन्दोलनको मूल्य, मान्यता र सिद्धान्तलाई बलियो बनाउन कोसेढुङ्गा सावित भएको उल्लेख गर्नु भयो । यसले आन्दोलन भित्रको सहयोगको बहुआयामिक प्रकृतिलाई सार्थकता दिएको उहाँको भनाई थियो ।  
‘आन्दोलनको छलफलमा संसदहरूलाई संलग्न गराउनुले यस विश्वव्यापी एजेन्डालाई जनताको नजिक ल्याउन योगदान पुर्याउँछ । त्यस्ता संलग्नताहरूले आन्दोलन अन्तर्गत हाम्रा साझा लक्ष्यहरूलाई दिगो र समृद्ध बनाउन मद्दत गर्नेछ । यस सञ्जालले उदीयमान विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्दै असंलग्न मूल्यहरूलाई गहिरो र विस्तार गर्न संसदहरूलाई सक्षम बनाउने मेरो प्रतिनिधिमण्डलको धारणा छ ।’सभामुख सापकोटाले भन्नु भयो ।  ‘असंलग्न आन्दोलन विश्वभरका देशहरूमा स्वतन्त्रता, स्वाबलम्बन, लोकतन्त्र र न्याय सुनिश्चित गर्न सफल भएको छ । हामीले सामूहिक रूपमा द्वन्द्व र चुनौतीहरूलाई कम गरेका छौं ।’ उहाँले भन्नु भयो ‘उपलब्धिहरूको बावजुद, हामीले द्वन्द्वदेखि जलवायु परिवर्तन, आर्थिक मन्दी, मूल्यवृद्धिसम्मका नयाँ र दोहोरिने समस्याहरूको सामना गरिराखेका छौं । धनी र गरिबबीचको असमानता बढ्दै गएको साथै ऊर्जा संकट र खाद्य असुरक्षा पनि सूचीमा थपिएका छन् ।’ सभामुख सापकोटाले आफ्नो सम्बोधनका क्रममा भू–राजनीतिक तनावको उदयको बीचमा, विश्वले हतियारको दौडको अभूतपूर्व स्तर देखेको, महाशक्तिहरू र महत्वाकांक्षी शक्तिहरू बीच पनि सैन्य खर्च बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भयो ।  सभामुख सापकोटाले कोभिड–१९ महामारीले मानवताका लागि ऐतिहासिक अनुपातका चुनौतीहरू छोड्ने र विश्वव्यापी रूपमा संक्रमणका घटनाहरूा कमि आए पनि कम  विकसित राष्ट्रहरुका लागि कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान अप्ठ्यारो काम हुने धारणा राख्नु भयो ।
उहाँले जलवायु परिवर्तन मानव जातिको अस्तित्वलाई खतरामा पार्ने अर्को चुनौती रहेको चर्चा गर्नु भयो ।  
‘अझ शान्त, समृद्ध र न्यायपूर्ण संसारको खोजीमा असंलग्न आन्दोलनले सबै क्षेत्र र मार्गहरूलाई संलग्न गरिरहनुपर्छ । असंलग्न देशका संसदहरूसँग हाम्रो साझा सरोकारका विश्वव्यापी एजेन्डाहरूलाई सम्बोधन गर्न आन्दोलनको प्रयासलाई पूरक बनाउन सक्ने क्षमता र शक्ति छ । यस आवश्यकतालाई ध्यानमा राख्दै, हामीले सामूहिक रूपमा परिकल्पना गरेका संसदहरूको ‘असंलग्न आन्दोलन सञ्जाल’ले आन्दोलनको व्यापक उद्देश्यहरू पूरा गर्न सहयोग गर्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु । नेपालको संघीय संसद यस महत्वपूर्ण पहललाई दृढतापूर्वक समर्थन गर्दछ ।’ उहाँले भन्नु भयो । 
अजरबैजानको बाकुमा सम्मेलन आयोजना गरेर आफु र प्रतिनिधिमण्डललाई न्यानो स्वागत गरेकोमा सभामुख सापकोटाले त्यहाँको सरकार, संसद र अजरबैजानका जनतालाई धन्यवाद ज्ञापन गर्नु भयो ।आज देखि सुरु भएको सम्मेलन असार १८ गते सम्म चल्ने छ । सभामुख सापकोटाको नेतृत्वमा प्रतिनिधि सभा सदस्य पुष्पा भुषाल गौतम, राष्ट्रिय सभा सदस्य रामचन्द्र राइ र सभामुख सापकोटाका स्वीकीय सचिव गोविन्द पाठक यही असार १४ गते अजरबैजानर प्रस्थान गर्नु भएको हो । नेपाली प्रतिनिधि मण्डल असार १९ गते साँझ नेपाल फर्कने छ । २०७९ असार १६