संघीय संसद, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालज्यू र आयरल्याण्डको सिनेटका महामहिम Cathaoirleach (अध्यक्ष) Mr. Jerry Buttimer ज्यू बीच भिडियो संवाद
संघीय संसद, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालज्यू र आयरल्याण्डको सिनेटका महामहिम Cathaoirleach (अध्यक्ष) Mr. Jerry Buttimer ज्यू बीच भिडियो संवाद भएको छ।
२०८१ असार ५ गते बुधबार नेपाली समय अनुसार बेलुकाको ६:४५ बजे Zoom सफ्टवेयरमार्फत सुरू भएको संवादमा सर्वप्रथम महामहिम Cathaoirleach ज्यूले सम्माननीय अध्यक्षज्यूलाई राष्ट्रिय सभाको अध्यक्ष निर्वाचित हुनुभएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो। सम्माननीय अध्यक्षज्यूले उक्त बधाई सन्देशको लागि धन्यवाद दिँदै यस भर्चुअल संवादले आफूलाई खुसी लागेको उल्लेख गर्नुभयो।
महामहिम Cathaoirleach ज्यूले यसै वर्ष (सन् २०२४) को जनवरीमा भएको आफ्नो नेपाल भ्रमणको स्मरण गर्दै सो भ्रमणका समयमा आफूले सिंगो नेपालबाट उच्च सम्मान पाएको बताउनुभयो। सम्माननीय अध्यक्षज्यूले सन् १९९९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सँधै सौहार्दपूर्ण रहिआएको उल्लेख गर्नुभयो। महामहिम Cathaoirleach ज्यूले सन् २०१९ मा आयरल्याण्डका महामहिम सभामुखको नेपाल भ्रमण, सन् २०२३ मा नेपालका सम्माननीय सभामुखको आयरल्याण्ड भ्रमण र सन् २०२४ मा आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध अघि बढाउन भूमिका खेलेको उल्लेख गर्नुभयो। सम्माननीय अध्यक्षज्यूले ती भ्रमणहरूबाट दुई देशबीचको संसदीय सम्बन्ध समेत विस्तार भएको धारणा व्यक्त गर्नुभयो। उहाँले नेपालको संघीय संसदमा नेपाल-आयरल्याण्ड संसदीय मैत्री समूह गठन भएको उल्लेख गर्दै समूहले दुई देशका संसदबीच सम्पर्क र समझदारी बढाउने अपेक्षा व्यक्त गर्नुभयो।
फरक प्रसङ्गमा महामहिम Cathaoirleach ज्यूले सन् २०१३ देखि आयरल्याण्डमा Nepal-Ireland Day मनाउने गरिएको उल्लेख गर्नुभयो र यस वर्ष आगामी July 7 मा मनाइने उक्त दिवसका लागि शुभकामना व्यक्त गर्नुभयो।
महामहिम Cathaoirleach ले दुवै संसदका नेतृत्वले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै उहाँले अन्तर-व्यवस्थापिका संघ (IPU) को आगामी सम्मेलनमा सम्माननीय अध्यक्षज्यूसँग भेट हुने विश्वास व्यक्त गर्नुभयो। सम्माननीय अध्यक्षज्यूले आफूले पनि उक्त भेटको लागि तत्पर रहेको बताउनुभयो। सम्माननीय अध्यक्षज्यूले नेपाल र आयरल्याण्डले संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने गरेको उल्लेख गर्नभयो। साथै, उहाँले सन् २०१५ को भूकम्पका समयमा र कोभिड महामारीका समयमा नेपाललाई गरेको सहयोगका लागि आयरल्याण्ड सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो। युरोपियन युनियन मार्फत आयरल्याण्डले नेपालको विकासमा गरेको सहयोग दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आयाम भएको उहाँले उल्लेख गर्नुभयो।
सम्माननीय अध्यक्षज्यूले नेपाल लामो युद्धपछि शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने चरणमा रही अब आर्थिक समृद्धिको लक्ष्यमा अघि बढेको र नेपालमा वैदेशिक लगानीबाट प्रतिफल प्राप्त गर्ने वातावरण बन्दै गएको हुँदा आयरल्याण्डबाट लगानीलाई स्वागत गर्ने बताउनुभयो। आयरल्याण्डमा रहेको नेपाली डायस्पोराले दुई देशबीचको सम्बन्धलाई चलायमान बनाउन देखाएको सक्रियताप्रति उहाँले खुसी व्यक्त गर्नुभयो। महामहिम Cathaoirleach ज्यूले नेपालमा आयरिस लगानीका सम्बन्धमा सम्माननीय अध्यक्षज्यूले उठाउनुभएको विषयमा आफ्नो ध्यान गएको र त्यसमा आफ्नो स्थानबाट सम्भव पहल गर्ने बताउनुभयो।
सम्माननीय अध्यक्षज्यू र महामहिम Cathaoirleach ज्यूले सुस्वास्थ्यको कामना आदानप्रदान गर्दै र आगामी दिनहरूमा सहकार्यको साझा प्रतिबद्धता गर्दै संवाद अन्त्य गर्नुभयो।
संवाद नेपाली समय अनुसार बेलुका ७:०५ मा अन्त्य भयो।