सम्माननीय सभामुखसँग अष्ट्रेलियन राजदूतको बिदाइ भेट
सम्माननीय सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज बिदाइ भेट गर्नुभएको छ। साढे तीन वर्षे कार्यकाल पूरा गरेर आगामी अगष्टमा स्वदेश फर्कनुअघि राजदूत भोल्कले बिदाइ भेट गर्नुभएको हो। भेटमा सभामुख घिमिरेले नेपालको लागि अष्ट्रेलियन राजदूतको रुपमा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएकोमा बधाई ज्ञापन गर्नुभएको छ । ‘आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित हाम्रो सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा अत्यन्तै खुशी लागेको छ,’ सभामुख घिमिरेले भन्नुभयो, ‘दुई देशबीचको उच्चस्तरीय भ्रमणमा महामहिमले प्राप्त गर्नुभएको सफलता स्मरणीय रहनेछ ।
सामुदायिक वन कार्यक्रममा अष्ट्रेलिया सरकारको सहयोग स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा पनि यस्तै दीर्घकालीन प्रभाव पार्ने सफल परियोजनामा अष्ट्रेलिया सरकारको सहयोगमा निरन्तरता हुने साथै जलवायु परिवर्तनको चुनौती सामना गर्ने विषयमा पनि आवश्यक सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो।
नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई अझ बढी मजबुत बनाउन द्विपक्षीय भ्रमणको आदान-प्रदान, नेपाल-अष्ट्रेलिया संसदीय मैत्री समूहको गठन लगायतले पनि महत्वपूर्ण भुमिका निर्वाह गरेको र अष्ट्रेलिया सरकारले कोभिड-१९ तथा जाजरकोट भूकम्पका समयमा नेपाललाई प्रदान गरेको मानवीय सहायताप्रति धन्यवाद व्यक्त गर्नुभयो।
सभामुख घिमिरे र राजदुत भोल्क दुवैले नेपाल र अष्ट्रेलियाबीच यस वर्ष सम्पन्न भएको व्यापार र लगानी सम्बन्धी सम्झौता (टिफा) को कार्य अघि बढिरहेकोमा खुसी व्यक्त गर्नुभयो। सम्झौता पश्चात् व्यापार र लगानीका क्षेत्रमा थप सम्बन्ध विस्तार हुने अपेक्षा राख्नुभयो ।
नेपाल र अष्ट्रेलियाबीच भएको व्यापार र लगानी सम्बन्धि सम्झौता (टिफा) बैठकका लागि अष्ट्रेलियन टोली काठमाडौं आउने तयारीमा रहेको बताउँदै राजदूत भोल्कले सम्झौतालाई नेपालको हितका प्रयोग गर्ने विषयमा छलफल हुने बताउनुभयो।
राजदुत भोल्कले नेपाल र अष्ट्रेलिया बीच रहेको व्यापार असन्तुलनलाई कम गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।