सम्माननीय सभामुखसँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट
सम्माननीय सभामुख देवराज घिमिरेसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले शिष्टाचार भेट गर्नुभएको छ । सभामुखको कार्यकक्षमा २०८१ साल भदौ २३ गते भएको भेटमा द्विपक्षीय हित, आपसी सम्बन्ध तथा संसदीय आदान प्रदानबारे छलफल भएको छ ।
सभामुख घिमिरेले दुई मुलुकबीचका व्यापारिक संयन्त्र लगायतको क्रियाशीलताले मात्रै व्यापारिक सम्बन्धलाई थप प्रभावकारी बनाउन सकिने धारणा राख्नुभयो । ‘पर्यटन, ऊर्जा, व्यापार विकास लगायतका क्षेत्रमा पाकिस्तानले लगानी गर्न सक्दछ,’ सभामुखले भन्नुभयो, ‘नेपाल पाकिस्तानको लगानीलाई स्वागत गर्न तत्पर छ ।’
नेपाल विकास र आर्थिक क्षेत्रमा प्रगतितर्फ रहेको बताउँदै सभामुख घिमिरेले प्राविधिक शिक्षाका लागि पाकिस्तानको सहयोग अपेक्षित रहेको उल्लेख गर्नुभयो । राष्ट्रसंघ लगायतका साझा मञ्चमा दुई मुलुक सँधै साथ साथ रहेको सभामुखको भनाइ थियो ।
सभामुख घिमिरेले सिधा हवाई यातायातको सम्भाव्यताबारे छलफल गर्नुपर्नेमा जोड दिँदै नेपालबाट अलैंची लगायतका कृषिजन्य उत्पादन निर्यातको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले संसदीय मैत्री समूहमार्फत दुवै मुलुकले आफ्ना विकास, प्रविधि र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन भूमिका खेल्न सक्ने बताउनुभयो ।
राजदूत हासमीले दुई मुलुकबीच गहिरो सम्बन्ध रहे पनि द्विपक्षीय र बहुपक्षीय मञ्चको फाइदा लिन नसकिएको धारणा राख्नुभयो । उहाँले नेपाल र पाकिस्तान सार्कको संस्थापक राष्ट्र रहेकाले उक्त फोरमलाई आर्थिक विकासमा प्रयोग गर्न सकिने बताउनुभयो ।
राजदूत हासमीले सिधा हवाई सम्बन्ध नभएको अवस्थामा विद्युतीय माध्यमबाट व्यापारिक गतिविधि सञ्चालन गर्न सकिने उल्लेख गर्नुभयो ।