सम्माननीय सभामुखसँग संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश व्यापार मन्त्रीको शिष्टाचार भेट


२६ असार २०८३
काठमाडौं ।

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश व्यापार मन्त्री महामहिम डा. थानी बिन अहमद अल जेयोउदीले आज संसद सचिवालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

सम्माननीय सभामुख अर्यालले यस भ्रमणले नेपाल-यूएई सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने र सहकार्यका नयाँ आयामहरू खुल्ने विश्वास व्यक्त गर्नुभयो। दुवै देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सहयोग, पारस्परिक विश्वास र समझदारीमा आधारित असल र मैत्रीपूर्ण सम्बन्ध कायम रहँदै आएको बताउनुभयो।
सभामुख अर्यालले सङ्घीय संसद्, प्रतिनिधि सभाले हालै यूएईसँग संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै यसले दुवै देशका संसद्हरूबीच भ्रमण, विचार, अनुभव तथा असल अभ्यासको आदान-प्रदानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।  सभामुख अर्यालले फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा-दुबई-पोखरा रुटमा सिधा दैनिक उडान सञ्चालन गर्न स्वीकृति पाएकोमा खुशी व्यक्त गर्दै यसले पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्क स्थापना गर्ने दिशामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, यूएईका पर्यटकहरूलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्न आग्रह पनि गर्नुभयो।
त्यसैगरी, संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन, जी–७७, एसिया सहयोग संवाद, अबुधाबी डायलग तथा विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र यूएईबीचको सहकार्य पारस्परिक हितका आधारमा भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

यूएईका विदेश व्यापार मन्त्री महामहिम अल जेयोउदीले नयाँ सरकार गठनपछि नेपालमा आफ्नो पहिलो भ्रमण रहेको उल्लेख गर्दै यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालमा लगानीका लागि यूएई सरकार सकारात्मक रहेको र प्रविधि, पूर्वाधार, शिक्षा लगायतका क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताउनुभयो।
उहाँले यूएईको विकासमा नेपाली श्रमिकहरूले पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपाल-यूएई सम्बन्धलाई थप उचाइमा पुर्‍याउन दुवै देशबीचको सहकार्य थप विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।

ट्यागहरु: