शिक्षा तथा स्वास्थ्य समिति २०७४

 

संघीय संसद

प्रतिनिधि सभा

शिक्षा तथा स्वास्थ्य समिति

संक्षिप्त परिचय:

लोकतन्त्रमा नागरिकका हक, अधिकार र स्वतन्त्रताको सुनिश्चितता हुन्छ । वास्तवमा यो नै लोकतन्त्रको मूलमन्त्र र यसमा नै नागरिकको विश्वास अडेको हुन्छ । लोकतन्त्र जनताको शासन व्यवस्था हो । यद्यपि यसमा जनताले प्रत्यक्ष शासन गर्ने नभई उनीहरुका प्रतिनिधि मार्फत शासन सञ्चालन हुन्छ । संसदीय प्रणाली अवलम्वन गरेका देशहरुमा संसदले कानून निर्माण जस्तो महत्वपूर्ण र जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्छ । संसदको कार्यप्रणालीमा सहयोग पुर्याउने एवं सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउने भूमिकाका लागि ‘मिनी पार्लियामेन्ट’ समेत मानिने संसदीय समितिहरु गठन गरिन्छन् । सरकारलाई निर्देशन तथा राय सल्लाह दिनुका साथै राज्यका अन्य निकायका कामकारवाही अध्ययन अनुगमन गरी सचेत पार्ने, ध्यानाकर्षण गराउने काम पनि संसदीय समितिले गर्छन् ।

नेपाल सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह सुझाव दिन समेतका लागि संविधानको धारा ९७ तथा संघीय संसद नियमावली, २०७५ को नियम ७० बमोजिम गठित विभिन्न विषयगत समितिहरुमध्ये शिक्षा तथा स्वास्थ्य समिति एक हो । यस समितिले विशेष गरी नागरिकका आधारभूत आवश्यकताहरु शिक्षा तथा स्वास्थ्यसँग प्रत्यक्ष र परोक्ष रुपमा सरोकार राख्ने विषयहरुको उठान, पहिचान, नियमन र व्यवस्थापन गर्नमा समन्वयात्मक र सहयोगात्मक भूमिका खेल्दछ ।

 समितिको गठन:  

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६९ मा प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पुर्याउन प्रतिनिधि सभा अन्तर्गत विषयगत समिति र विशेष समिति गठन गर्न सकिनेछ भन्ने व्यवस्था रहेको छ । प्रतिनिधि सभा नियमावलीको नियम १७२ मा नियम १७० बमोजिमका प्रत्येक समितिमा सभामुखले प्रतिनिधि सभाको सहमति लिई पदेन सदस्य बाहेक बढीमा २७ जना सदस्य मनोनयन गर्न सक्नेछ भन्ने व्यवस्था भए बमोजिम २०७५ साल साउन १७ गतेको प्रतिनिधि सभाको बैठकले यो समितिको गठन गरेको हो । हाल यस समितिमा पदेन सदस्य बाहेक २३ जना  (हाल २६)सदस्यहरु रहनु भएको छ । समितिमा सदस्यको मनोनयन गर्दा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या, महिला, दलित, आदिवासी जनजाति, खस-आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायको समेतको समानुपातिक प्रतिनिधित्वलाई मध्यनजर गरी समितिको गठन गरिएको छ ।

समितिको कार्य क्षेत्रः

संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७० बमोजिम गठित शिक्षा तथा स्वास्थ्य समितिको कार्यक्षेत्रभित्र निम्न मन्त्रालयहरु समाविष्ट छन्

   १.शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

२.स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

३.युवा तथा खेलकुद मन्त्रालय

समितिसम्बन्धी विवरणः

  • समितिका सदस्य संख्याः- २६ जना
  • प्रथम बैठकः- २०७५।०४।२१ गते (समितिका ज्येष्ठ सदस्य मा. श्री मानबहादुर विश्वकर्माको सभापतित्वमा वस्यो)
  • समितिको सभापतिको निर्वाचनः- २०७५।०६।०५
  • समिति सभापतिः- मा. श्री जयपुरी घर्ती
 समितिको सचिवालय

      प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८९ मा समितिको सचिवालय सम्बन्धी व्यवस्था रहेको छ । संघीय संसद सचिवालय अन्तर्गत समितिको सचिवालय रहने हुँदा महासचिवले आफू मातहतको वरिष्ठ अधिकृतलाई समितिको सचिव भई काम गर्न तोक्न सक्ने व्यवस्था छ । समिति सचिवले पदेन सचिवको रुपमा रही काम गर्नेछ ।     

समिति सचिवालयको काम कर्तव्य र अधिकारः-

  • समितिको योजना र कार्यक्रम बनाउन सहयोग गर्ने,
  • बैठकको कार्यसूची (एजेण्डा) तयार गर्ने एवं बैठकको लागि आवश्यक व्यवस्था मिलाउने,
  • बैठक सञ्चालनको लागि सभापतिलाई सहयोग गर्ने,
  • छलफलका लागि आवश्यक सूचना संकलन तथा वितरण गर्ने व्यवस्था गर्ने,
  • बैठकमा छलफल समाप्त भएपछि बैठकको निष्कर्ष वा निर्णयको मस्यौदा तयार गर्ने र सभापति र सचिवबाट निर्णय प्रमाणित गराउने,
  • उपसमितिहरुको कार्यमा सहयोग गर्ने,
  • समिति वा उपसमितिबाट भएका निर्णयहरु कार्यान्वयन गर्ने,
  • समितिको कार्य सम्पादनमा सहयोग पुर्याउन सम्बन्धित मन्त्रालय, विभाग वा निकायसँग आवश्यक लेखापढी गर्ने,
  • समिति वा उपसमितिबाट हुने स्थलगत अध्ययन भ्रमणको व्यवस्था मिलाउने र सहयोग गर्ने,
  • प्रतिवेदनलाई समितिले अन्तिम रुप दिएपछि प्रतिवेदनका प्रतिहरु तयार गरी सभामा पेश गर्नको लागि प्रक्रिया मिलाउने,
  • सचिवालयबाट भए गरेका कामको अभिलेख राख्ने आदि ।           ​

समिति सचिवालय

क्र.सं

नाम थर

सम्पर्क नम्बर

इमेल

 १

  समिति सचिव श्री पुष्पप्रकाश खनाल ९८४१३६६८३० pushpaprakashkhanal@gmail.com

  २

  शा.अ.श्री विष्णु चौधरी ९८४९३८९९५१ bishnu347@gmail.com

 ३

  ना‍.सु.श्री रुपक पाण्डे ०१४२११८६५ pandeyrupak@gmail.com

४ 

  का‌‍‍.स श्री राेशनी रानामगर ९८६४६९२२५२

     -

                   

सम्पर्क नंं :    ०१ ४२००६७२ (समिति सचिव),  ०१ ४२११८६५

फ्याक्स नंं 
E-mail : education.health.c@gmail.com