पूर्वाधार विकास समिति

परिचय:
    संसदीय प्रणालीमा समितिहरुलाई संसदको मेरुदण्डको रुपमा लिने गरिन्छ । संसदीय काम कारवाहीको प्रभावकारिता वृद्धि गर्न, संसदको अमूल्य समयको वचत गर्न, संसदभित्रैबाट संसदको अभिन्न अंगको रुपमा स्थापित संयन्त्र नै संसदीय समितिहरु हुन् । विधायिकाले सम्पन्न गर्नुपर्ने गहन र जटिल कार्यहरु, संसदको पूर्ण सदनमा हुने सीमित र औपचारिक छलफलबाट मात्र पूरा हुन सक्दैन । यसै गरी कार्यकारिणीलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउने, सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने, सरकारी आश्वासन, प्रत्यायोजित व्यवस्थापन, संवैधानिक निकायका वार्षिक प्रतिवेदन एवं समसामयिक विषयहरुमा छलफल र छानबिन गरी राय सुझfव सल्लाह र निर्देशन दिने, अनुगमन र मूल्यांकन गर्ने जस्ता कार्यहरु सभा आफैँले गर्दा समय बढी लाग्ने, कार्यबोझ अधिक हुने भएकाले यसलाई सहज र सरल तरिकाले नियमित र व्यवस्थित गर्न आवश्यकताअनुसार विषयगत समितिहरु गठन गरिएका हुन्छन् । यस्ता समितिहरुलाई संसदको हेल्पिङ ह्यान्डस् को रुपमा समेत लिने गरिन्छ । वर्तमान नेपालको संविधानले प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी द्विसदनात्मक संसदको व्यवस्था गरेको छ ।
  सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन तथा राय सल्लाह दिन संविधानको धारा ९७ बमोजिम प्रतिनिधि सभामा गठन गरिएका विभिन्न समितिहरुमध्ये पूर्वाधार विकास समिति एक हो ।

समितिको कार्य क्षेत्र :
क) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,  
ख) ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय,                       
ग) ​ खानेपानी मन्त्रालय,
घ)  सहरी विकास मन्त्रालय​ ।
समितिको गठन :
     प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७५ को उपनियम (१) बमोजिम समितिमा पदेन सदस्य  बाहेक  सत्ताईस जना सदस्य रहने व्यवस्था छ । प्रधानमन्त्री सबै समितिको र समितिको कार्यक्षेत्रसँग सम्बन्धित मन्त्री सो समितिको पदेन सदस्य हुने व्यवस्था प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७५ को उपनियम (३) मा उल्लेख गरिएको छ । समितिमा सदस्यहरुको मनोनयन गर्दा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या, महिला, दलित, आदिवासी जनजाति, खस-आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय समेतको समानुपातिक प्रतिनिधित्वको आधारमा गरिने व्यवस्था रहेको छ ।

समिति सचिवालय :
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १९२ मा समितिको सचिवालय सम्बन्धी व्यवस्था रहेको छ । स‌घीय संसद सचिवालय अन्तर्गत समितिको सचिवालय रहने छ । महासचिवले आफू मातहतको वरिष्ठ अधिकृतलाई समितिको सचिव भई काम गर्न तोक्न सक्ने व्यवस्था छ । समिति सचिवले पदेन सचिवको रुपमा रही काम गर्नेछ । समितिको सचिवले समितिको कार्य सम्पादनमा सहयोग पुर्याउन सम्बन्धित मन्त्रालय, विभाग वा अन्य निकायसँग आवश्यक जानकारी माग्न सक्ने व्यवस्था रहेको छ । यस समिति सचिवालयमा हाल कार्यरत कर्मचारीहरु देहाय बमोजिम रहेका छन् ।
 
क्र.सं. नाम/थर पद सम्पर्क
१. उदयकुमार भण्डारी समिति सचिव 9851075059
२. नागेन्द्र प्रसाद चौधरी उपसचिव 9841527060
३. सीता पोख्रेल शाखा अधिकृत 9848121197
४. नगेन्द्र बहादुर बुढा नायव सुब्बा 9848097460
५.  मुना कडरिया कार्यालय सहयोगी 9869815931
६. सचिवालय   01-4200419, 4200121
७. इमेल dtc@parliament.gov.np