सम्माननीय सभामुख सापकोटाको अपिल


 
                          हार्दिक अपिल
 
आदरणीय दिदीबहिनी तथा दाजुभाइ, 
 
नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न यस शताब्दीकै विषम परिस्थितिसंग जुध्दै गर्दा हामीलाई अर्को प्राकृतिक विपत्ति आइपरेको छ । असार २४ गते यताको निरन्तरको भारी बर्षाका कारण देशका अधिकांश जिल्लाहरुमा बाढी, पहिरो र डुबानले ठूलो मानविय र भौतिक क्षति हुन पुुगेको छ । 
 
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ स्थित जम्बु, खागदल, भोटकोशीको बुलकुटे, म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिका, कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडा, जाजरकोटको बारेकोट गाउँपालिकामा बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति भएको छ । 
 
गुल्मी, संखुवासभा, लमजुङ, काभ्रेपलाञ्चोक, रुकुम पश्चिम, गोर्खा, पर्वत लगायतका हिमाली र पहाडी जिल्लाहरुमा बाढी, पहिरो र डुबानका कारण आठसय हाराहारी परिवार विस्थापित हुन पुगेका छन् । तराइका जिल्लाहरु जलमग्न भएका छन् । ती स्थानमा राष्ट्रिय, क्षेत्रीय र ग्रामिण सडक तथा पुलहरुमा क्षति पुगेको छ । निरन्तरको बर्षाका कारण बाढी पहिरोबाट एक महिना भित्र देशका १९ जिल्लाका ८८ जना नागरिकको ज्यान गइसकेको छ । 
सिन्धुपाल्चोकका २० सहित दर्जनौ नागरिक बेपत्ता छन, सयौं घाइते छन् । मृत्यु र बेपत्ता हुनेहरुको संख्या निरन्तर बढिरहेको छ ।   
 
मनसुन जारी रहेकोले खासगरी जोखिममा रहेका भूू–भागहरु, नदी किनार, कटान तथा डुबान दोहोरीने क्षेत्रमा बसोबास गर्नुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई विशेष सतर्कता अपनाउनुहुन, म हार्दिक अपिल गर्दछु । 
 
सरकारका तर्फबाट पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितहरुको पुनस्थापनाका लागि प्रयास भइरहेको छ । यस प्रयासलाई गुणात्मक रुपमा बढाउन जरुरी छ । तयारीलाई तिब्रता दिन, बेपत्ताहरुको खोजी र अबरुद्ध हुन पुगेका सडक सञ्चालनका लागि विशेष अभियान सञ्चालन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।   
 
हाल संघीय संसदको बैठक चलीरहेको छैन । विपत्तिमा जनताको घरदैलोमा पुुगेर सहयोगमा जुटिरहनुभएका माननीय सदस्यहरुलाई संघ, प्रदेश र स्थानिय तहहरुसंग समन्वयगरि आ–आफ्नो ठाउँबाट पहल जारी राख्नु हुन म आह्वान गर्दछु । विपद्का बेला प्रदेश र स्थानियतहले खेलेको भूमिका महत्वपूर्ण र प्रशंसनीय छ । यो कष्टकर परिस्थितिमा उद्धारका लागि अग्रपंक्तिमा खटिइरहनु भएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवीहरुको उच्च प्रशंसा गर्दै विपत्तिमा परेका नागरिकहरुको यथासक्य छिटो उद्धार, राहत र पुनस्थापनाका लागि एकजुट भएर लाग्न सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु । 
 
विपद्बाट बच्चे उत्तम उपायहरु जोखिमयुक्त क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन, पूर्व तयारी गर्न, पूर्व सूचना प्रणालीको विकास र यसको उच्चतम प्रयोग गरी विपद्बाट बच्न र क्षतिको न्यूनिकरणगर्न हामीसंग उपलब्ध सबैखाले स्रोत, साधन र संयन्त्रको उच्चतम प्रयोग गर्न अनुरोध गर्दछुु । 
 
अन्त्यमा, यस विपत्तिका कारण ज्यान गुमाउनु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली र स्वजनको मृत्युवियोगमा रहनुभएका परिवारमा समवेदना प्रकट गर्दछु । घाइतेहरुको शीघ्र स्वाथ्यलाभको कामना गर्दछु । 
धन्यवाद ! 
२०७७/०३/२८ अग्निप्रसाद सापकोटा 
                                            सभामुख