शोक वक्तव्य


शोक वक्तव्य
 
लगातारको प्राकृतिक विपत्तिले थलिएको गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा ठूलो विपत्ति परेको छ । अविरल बर्षापछि गाउँमाथिबाट खसेको पहिरोले ३७ घरमा गम्भीर क्षति पुगेको छ जसमध्ये १३ घर पूर्णतः पुरिएका छन् । पहिरोमा परेका ३८ जना स्थानीयमध्ये ११ जनाको शव निकालिएको छ । 
 
आज बिहान म पहिरोस्थल पुगें । तत्काल ५ जना घाइतेको उद्दार गरी उपचारका लागि चौतारा र काठमाडौँ पठाइयो । स्थानीयले आफ्नो गाउँमा परेको पीडाबारे जानकारी गराउनुुभयो । पहिरोस्थल पुुगेको नेपाली सेनाको टोलीसँगको समन्वयमा तत्काल खोजी कार्य सुरु गरियो ।  नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा पुरिएकाहरुको खोजी कार्य जारी छ ।   
 
पहिरोका कारण विस्थापित भएकाहरुका लागि तत्काल राहत सामग्री पठाउने काम भएको छ । बेपत्ताहरुको खोजी र पुनस्र्थापनाका लागि पहल जारी रहने छ । वि.सं. २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण ठूलो जनधनको क्षति र भौगौलिक रुपमा जर्जर भएको भूगोलका कारण अझै यस्ता प्राकृतिक विपत्तिका घटना दोहोरिन सक्ने भएकोले सचेत रहन सम्पूर्ण जिल्लाबासीलाई अपिल गर्दछु ।   
 
यसैगरी गएराति कालीकोट जिल्लाको महावै गाउँपालिकामा खसेको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु भएको र मकवानपुरमा पनि एक जनाको मृत्यु भएको खबरले दुःखित तुल्याएको छ । 
यस दुःखद घडीमा, विपत्तिमा परी ज्यान गुमाउनुभएका सिन्धुपाल्चोकका लिदिबासी, कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परी मृत्यु भएका नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । 
सिन्धुपाल्चोकको लिदिबाट उद्दार गरी चौतारा अस्पतालमा उपचार गराइरहनुभएका चारजना र काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार गराइरहनुभएका एकजना घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
 
२०७७।०४।३० अग्निप्रसाद सापकोटा