विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ मा सम्माननीय सभामुखज्यूको शुभकामना सन्देश


विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सम्पूर्ण सञ्चारकर्मी एवं सञ्चारसम्बद्ध सबैमा हार्दिक शुुभकामना व्यक्त गर्दछु । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कालखण्डमा भएका संघर्षहरुमा आफ्नो अमूल्य जीवन अर्पण गरेका सम्पूर्ण सञ्चारकर्मीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली !    

संविधान सभामार्फत् जनताका प्रतिनिधिहरुद्वारा निर्मित संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेपश्चात हामी यसको व्यवहारिक अभ्यासका क्रममा छौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण र मजबुत पक्ष हो । नेपालमा लोकतन्त्रको विकास, बिस्तार र सुदृढीकरणमा सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय छ । प्राप्त अधिकारहरुको उपयोगका लागि सञ्चार जगत सधैंजस्तै निर्भीकतापूर्वक लागिरहने छ भन्ने विश्वास लिएको छु । कतिपय अवस्थामा प्रेस स्वतन्त्रतामाथि समस्या पैदा भएपनि सामूहिक पहल र प्रयत्नबाट त्यस्ता समस्याहरुलाई निराकरण गरिएको छ । संघीय संसद प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सधैं सँगै रहेको विश्वास दिलाउन चाहन्छु ।  

यो बर्ष विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा हामी कोभिड–१९ को दोस्रो लहरसँग जुधिरहेका छौं । अग्रपंक्तिमा रहेर काम गर्ने दर्जनौं सञ्चारकर्मीहरुमा कोभिड संक्रमण भएको यसबाट सञ्चारकर्मीहरुको निधन समेत भएको खबर पाएको छुु । दिवंगत सञ्चारकर्मीहरुप्रति श्रद्धासुमन अर्पण गर्दै संक्रमित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।  

सञ्चारकर्मीहरुलाई आफू पनि सजक रहेर काम गर्ने र आम दर्शक, स्रोता र पाठकहरुलाई पनि सचेत गराउनु पर्ने दोहोरो जिम्मेवारी छ । विषम परिस्थितिमा सम्पूर्ण स्वास्थ्य सतर्कता अपनाएर सञ्चार जगतले उदाहरणीय भूमिका खेल्ने छ भन्ने विश्वास लिएको छु । अहिले सञ्चार जगतलाई कोभिड–१९ बाट सिर्जित महामारीबाट नागरिकलाई सूचित गरी सुरक्षित बनाउने जिम्मेवारी पनि थपिएको छ । यस दिवसले सम्पूर्ण सञ्चारकर्मीहरुमा ऊर्जा र हौसलाका साथ सरोकारवाला र आम नागरिकलाई झकझकाउन निरन्तर लागिरहने उत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।  
२०७८/०१/२०
(३ मे २०२१)
                                                 अग्निप्रसाद सापकोटा