सभामुखको आव्हानमा २०७८ भदौ २८ मा आयोजित सर्बदलीय बैठक
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा आज संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका संसदीय दलका नेता एवं अध्यक्षहरुसँग समसामयिक विषयमा छलफल भएको छ ।
छलफलका सम्बन्धमा संघीय संसद सचिवालयको प्रेस विज्ञप्ति
.........................................................................................................
प्रेस विज्ञप्ति
संघीय संसद, प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको असहमतिका कारण उत्पन्न गतिरोध अन्त्य गरी सदन सुचारू गर्न र विधायिकी कार्य अघि बढाउने उद्देश्यले सम्माननीय सभामुखले २०७८ भाद्र २८ गतेका लागि आयोजना गर्नु भएको सर्बदलीय बैठक सम्पन्न भएको छ |
बैठकमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) दलका नेता माधवकुमार नेपाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्त ठाकुर, नेमकिपाका नेता प्रेम सुवाल तथा जनमोर्चाका नेता दुर्गा पौडेल सहभागी हुनुहुन्थ्यो | राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिंग्देनले आफू दोलखामा रहेका कारण उपस्थित हुन नसकेको कुरा पूर्व जानकारी गराउनु भएको कुरा बैठकमा सम्माननीय सभामुखले बताउनु भयो |
उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को तर्फबाट उपस्थिति नभएको सन्दर्भमा सम्माननीय सभामुखले आफूले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्षसंग सम्पर्क गर्न प्रयत्न गरेको तर धेरै प्रयास गर्दा पनि सम्भव नभएको जानकारी गराउनु भएको थियो | प्रमुख विपक्षीको उपस्थिति नभएको सन्दर्भलाई जोड्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आफूले संसदीय गतिरोधका सन्दर्भमा त्यसलाई समाधान गर्ने उद्देश्येले पूर्व प्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीसंग उहाँकै निवासमा पुगी छलफल गरेको र उहाँको असहमतिका बाबजुद पनि प्रतिनिधि सभा सुचारू गर्न सहमतिको प्रयास गरेको बताउनु भयो |
उक्त बैठकमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुखको समन्वयकारी भूमिकाको प्रशंसा गर्नुहुँदै सर्वदलीय बैठक आयोजना गरेकोमा धन्यवाद दिनुभयो | उहाँले यो समस्या भोलि प्रमुख प्रतिपक्षीलाई पनि आउन सक्ने भन्नु हुँदै संचारमाध्यामले पारदर्शी रूपमा संसदीय गतिविधि प्रशारण गरेकोले सदनलाई मर्यादित बनाउन मद्दत पुगेको, सदनमा विपक्षीको सम्मान जरूरी रहेको र द्वन्द्वको विकल्पमा जानुपर्ने भएकोले वार्ता, छलफल र सहमतिको लागि गठबन्धन तयार रहेको बताउनु भयो |
त्यसैगरी पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ले सभामुखको पहललाई प्रशंसा गर्नुहुँदै संवादबाट समाधान खोज्ने उत्तम विकाल्प भएकोले प्रमुख प्रतिपक्षीलाई छलफल र संवादमा आउन अनुरोध गर्नुभयो |
उहाँले अदालतको भर्डीक्ट नआएको र निर्वाचन आयोगबाट निर्णय आएको सन्दर्भमा आआफ्नो दृष्टिकोण हुने भन्दै छलफल र सहमतिमा सभालाई सुचारु गर्नुको विकल्प नभएकोले लगातार कोशिस गर्न सभामुखलाई अनुरोध गर्नुभयो |
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष जिम्मेवार नभएको कुरा औंल्याउनुहुँदै, प्रतिनिधि सभाप्रति पूर्वाग्रह नराख्न र लोकतान्त्रीक संस्कार प्रदर्शन गर्न अनुरोध गर्नुभयो | उहाँले संविधानको धारा ७६ (५) अन्तर्गत अदालतको फैसला अनुसार पनि दल त्याग आकर्षित नहुने भन्दै विधि पुर्याएर नेकपा (एकीकृत समाजवादी) दर्ता भएको अवस्थामा अदालत र निर्वाचन आयोगको विरोध गर्नुको कुनै अर्थ नभएको बताउनु भयो | मानवीय आवेग विस्तारै कम हुँदै जाने भन्दै असहमति विच सहमति खोजेर अघि बढ्न र संवाद जारी राख्न सुझाव दिनुभयो |
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनबाट बजेट पास गर्नुपर्ने, नियम निलम्बन गरी अघि बढ्न प्रमुख प्रतिपक्षको सहमति चाहिने र उत्पन्न गतिरोध हल गर्न आफूले अनौपचारिक र औपचारीक पहल गरेको कुरा व्यक्त गर्नुभयो | प्रमुख प्रतिपक्ष सत्तामा हुँदै ल्याएका नागरिकता, तेजाव प्रयोग, कोभिड १९ सम्बधी अध्यादेश तथा आर्थिक अध्यादेश जस्ता कतिपय अध्यादेशहरू सदनमा पास गर्न प्रमूख प्रतिपक्षको पनि जिम्मेवारी रहेको बताउनु भयो |
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सदनमा भएको अवरोध हटाउन गरिएको सर्वदलीय बैठकको प्रशंसा गर्नुहुँदै प्रमुख प्रतिपक्षले संसद्को पक्षमा आफू रहेको कुरा पुष्टि गर्न पनि समझदारीमा आउनपर्ने बताउनुभयो | संसदलाई क्रियाशिल बनाई संसदीय सर्वोच्चता सबैले स्वीकार्नुपर्ने कुरामा ध्यानाकर्षण गराउनुभयो | उहाँले हिजो संसद विघटन गर्ने आज संसद अवरोध गर्ने एउटै दल भएकोले प्रतिपक्षी दललाई यो संसदको पक्षमा नभएको देखिएको बताउनु भयो ।
त्यसैगरी लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुरले विगतमा पनि ५९ दिन सदन अबरूद्ध भएको तर पछि आपसी छलफलबाट सदन सुचारु भएको स्मरण गर्नुहुँदै द्वन्दमा सम्झौता अनिवार्य शर्त रहेको, प्रतिरोधको अधिकार सुरक्षित हुनुपर्ने र प्रमुख प्रतिपक्ष Next to government भएकोले विश्वासमा लिएर अघि बढ्न सुझाव दिनुहुँदै संवाद र छलफलमा आफ्नो संधै सहयोग रहने कुरा बताउनु भयो | नेमकिपाका नेता प्रेम सुवालले प्रमुख पार्टीहरूले आफ्नो घोषणापत्रका बाचा बिर्सन नहुने भन्दै बहस र छलफल सिद्दान्तमा केन्द्रित हुनुपर्ने कुरामा ध्यानाकर्षण गराउनु भयो | उहाँले संसद बल देखाउने स्थान नभई प्राज्ञिक थलो भएको बताउनु भयो ।
जनमोर्चाका नेता दुर्गा पौडेलले सभामुखले आफूलाई कानुनले दिएको सुविधा उपयोग गर्नुभएको र प्रतिपक्षको आफ्नो मनसाय अनुसार नहुँदा विवाद बढेको बताउनुहुँदै सांसदहरूले राष्ट्रिय समस्या सदनमा उठाउन नपाएको कुरामा ध्यानाकर्षण गराउनु भयो | सदनलाई लामो समय अनिर्णयको बन्दि बनाउन नहुने र अविलम्ब वार्तामा वसी सदन सुचारु गर्नुपर्ने बताउनु भयो |
अन्तमा समापन गर्नुहुँदै सम्माननीय सभामुखले आफू वार्ता र छलफलबाट समस्या समाधान हुनेकुरामा विश्वस्त रहेको र आजको बैठकबाट थप उर्जा र प्रेरणा मिलेको बताउनु हुँदै आगामी दिनमा सम्वाद र सहमतीका लागि भरमग्दुर प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले यसकार्यमा सबैको निरन्तर सहयोगको अपेक्षा राख्नु भयो | सम्माननीय सभामुखले देश र जनताको अधिकतम हित, संविधानको रक्षा र ससंसदको गरिमालाइ उचो गर्न आफूले निष्ठाका साथ लाग्ने एवं जनतलाई निरास नबनाईने बताउनु भयो ।
डा. रोजनाथ पाण्डे
प्रवक्ता
मिति : २०७८ भाद्र २८ गते