सर्बदलीय बैठक सम्पन्न


सर्बदलीय बैठक सम्पन्न

सर्बोच्च जनप्रतिनिधि संस्था, प्रतिनिधि सभामा विपक्षी दलको लामो समय देखि  अवरोध जारी रहँदा गतिरोध अन्त्य गरी संसद सुचारु गर्ने र नियमित कारबाही अघि बढाउने उदेश्यले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा आज सर्बदलीय बैठक सम्पन्न भएको छ । 
 
बैठकमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्र मन्त्री डा. नारायण खड्का, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बढु, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी दलका नेता अकबाल अहमद साह, नेमकिपाका नेता प्रेम सुवाल तथा जनमोर्चाका नेता दुर्गा पौडेल सहभागी हुनुहुन्थ्यो । यस्तै बैठकमा नेपाली कांग्रेसका सचेतक पुष्पा भुषाल गौतम, माओवादी केन्द्रका प्रमुख सचेतक देबप्रसाद गुरुङ र नेकपा (एकिकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको सहभागी हुनु भएको थियो । 

बैठकमा सहभागिहरुलाई स्वागत गर्दै सम्माननीय सभामुखले सदनबाट नयाँ नक्सा जारी गर्दा दलहरुबीच सहमती जुटे जस्तै पार्टीहरुका बीचमा राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमती होस् भन्दै आफू नेपालको संविधान, संबैधानिक नैतिकता, नियमावलीका विषयमा जानकार रहेको र आफूले संविधानको परिधिभित्र रहेर भूमिका निर्वाह गरिरहेको बताउनु भयो । २०७७ पुस ५ देखि २०७८ असार २८ सम्मका घटनाक्रमबाट ठूलो शिक्षा प्राप्त भएको उहाँको भनाई थियो । 

बैठकमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलले सदन सुचारु गर्न सहयोग नगरेको बताउँदै दलहरु मिलेर जानुको विकल्प नभएको बताउनु भयो । विवादित बनेका विषयहरु सदनमा लगेर सदनबाटै छिनोफानो गर्नु पर्ने प्रधानमन्त्रीको धारणा थियो । 

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन सुचारु गर्नु अहिलेको पहिलो प्राथमिकता रहेको बताउँदै यसका लागि राष्ट्रिय सहमती बनाउने कोसिस जारी रहेको बताउनुभयो । कुनै परियोजना विशेषका कारण राष्ट्रिय एकतामा खलल नआओस भन्ने तर्फ सचेत रहनु पर्नेमा जोड दिँदै उहाँले सदनलाई बन्धक बनाउने अधिकार कसैलाई नभएको बताउनु भयो । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विपक्षी दलको विरोध कै कारण सदनको कारबाही रोकिन नहुने बताउनु भयो । उहाँले संसद चलाउनु पर्नेमा जोड दिंदै नागरिकता विधेयक लगायत अन्य थाती रहेका महत्वपूर्ण विधेयकहरु अघि बढाउनु पर्ने बताउनु भयो । 

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकका विषयमा भएको छलफलले यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सदन सुचारु गरेर पास गर्नु पर्ने धारणा राख्नु भयो । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले सदन बाहिर भएका बहसलाई सदनबाट निष्कर्षमा पुर्याउनु पर्ने बताउनु भयो । पराराष्ट्र मन्त्री डा. नारायण खड्काले सदन सुचारु हुनु पर्नेमा जोड दिंदै विवादित विषयहरु छिनोफानो गर्ने अन्तिम थलो सदन हो भन्नु भयो । 

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सदन खुलाउन प्रधानमन्त्रीबाट प्रयास जारी राख्नु पर्नेमा जोड दिंदै विपक्षी दल तयार नभए नागरिकता लगायतका विधेयकहरु अघि बढाउनु पर्ने धारणा राख्नु भयो । नेपाली कांग्रेसका सचेतक पुष्पा भुषाल गौतमले नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु विपक्षी दलका कारण सदनमा अघि बढ्न नसकेको बताउँदै संसदलाई सबै विषयको छलफल गर्ने थलो बनाउनु पर्ने बताउनु भयो । यस्तै गरी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले विपक्षी दलको समेत सहमतीमा सदन सञ्चालनको अभ्यास रहेको चर्चा गर्दै विपक्षीसँग बार्ता र संवादका माध्यमबाट निकास खोजीनु पर्ने बताउनु भयो । नेकपा एकिकृत (समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले सदन सुचारु गर्न पहल जारी राख्नु पर्ने बताउनु भयो । लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिनिधि अकबाल अहमत शाहले लोकतान्त्रिक उपलब्धिहरु रक्षाका लागि ध्यान दिनु पर्नेमा जोड दिनु भयो । राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलले सदन सुचारु हुनु पर्ने र दलहरुबीच सहमती गरेर अघि बढ्नुपर्नेमा जोड दिनु भयो । नेमकिपाका नेता प्रेम सुवालले विवादित विषयहरु सदनमा पेश गर्न नहुने धारणा राख्नु भयो । 

संघीय संसद सचिवालय सिंहदरबारमा चार घण्टा चलेको सर्बदलीय बैठक समापन गर्नुहुँदै सम्माननीय सभामुखले छलफल गम्भीर र जीवन्त भएको बताउनु भयो । संसद सुचारु गर्न हरसम्भब प्रयास गर्नु पर्नेमा जोड दिंदै उहाँले राष्ट्रिय महत्वका विषयमा दाउपेच नगरौं भन्नु भयो । उहाँले आफ्नो भूमिका  ‘अम्पायर’ को जस्तो भएको बताउँदै दलहरुका तर्फबाट सदन सुचारु गर्न गम्भीरतापूर्वक पहल होस् भन्नु भयो । 

बैठक पछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले बैठक सजीव, जीवन्त र व्यवस्थित ढंगले चलेको र आफूले स्तरीय बैठकका रुपमा अनुभूति गरेको बताउनु भयो । विपक्षी दलको उपस्थिति नभएका कारण बैठक निष्कर्षमा पुग्न नसकेको बताउँदै बैठकले आगामी दिनमा सहमतिका लागि थप पहल गर्न सबैका लागि आधार दिएको बताउनु भयो । उहाँले राष्ट्रिय महत्वका विषयमा आम सहमति बन्दा धेरै राम्रो कुरा हुन्छ भन्दै सहमति बनाउन सबैले पहल र प्रयत्न गर्ने विषयमा छलफल भएको जानकारी दिनु भयो । बैठकले संसद सुचारु गर्नका लागि सबैलाई गम्भीर बनाएको, गम्भिर पहल गर्नुपर्ने अनुभूति भएको बताउनु भयो । बैठकमा नागरिकता, हवाई उड्ययन सँग सम्बन्धित विषय लगायतका विधेयक एवं राष्ट्रिय जीवनका सबै समस्याहरुमा विहंगम, व्यापक र गम्भीर छलफल भएको जानकारी दिँदै उहाँले थाति रहेका विधेयक पास गर्ने, जनताका समस्याहरु, राष्ट्रिय रुपमा देखिएका समस्याहरुका बारेमा छलफल गर्न सदनलाई सुचारु गर्ने र छलफलको वातावरण बनाउने कुरा नै अहिले सबैभन्दा महत्वपूर्ण कुरा हो भन्नेमा सबैको एकमत रहेको जानकारी दिनु भयो । 
२०७८ फागुन २