११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सम्माननीय सभामुखज्यूको शुभकामना सन्देश । २०७८ फागुन २४ ( ८ मार्च २०२२)


 शुभकामना
 
११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । यस अवसरमा महिलाको समान अधिकार स्थापित गर्दै सम्मानित जीवनको सुनिश्चितताका लागि जीवन उत्सर्ग गर्नुहुने सबैप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । 
राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक उपलब्धिका लागि नेपाली महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय र सदा स्मरणीय छ । लामो समयदेखिको विभेदका विरुद्ध महिलाको विद्रोही चेत र कुशल नेतृत्व क्षमताका कारण वि.सं. २०७२ सालमा संविधान सभामार्फत् जारी गरिएको नयाँ संविधानमा सबै खाले लैंगिक विभेद अन्त्यको दस्तावेजीकरण सम्भव भएको छ । राज्यका हरेक निकायमा समानुपातिक, समावेशी र समतामूलक सहभागिताको हक नेपाली महिलाको बलिदान र कठिन संघर्षको प्रतिफल हो । 
हाम्रासामु लामो र अथक प्रयासबाट प्राप्त अधिकारहरुको व्यावहारिक कार्यान्वयनको चुनौती यथावत छ । उपलब्धिहरुको प्रतिफल उपयोगका लागि भइरहेको ढिलासुस्ती महिलालाई हेर्ने दृष्टिकोणमा कायम अस्पष्टताको परिणाम हो । यसतर्फ पनि सचेततापूर्वक ध्यान दिनु आवश्यक छ । वर्तमानमा महिलाप्रति निर्माण गरिने सही दृष्टिकोणले समतामूलक र न्यायपूर्ण समाज निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छु ।    
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ऐतिहासिक महत्वलाई स्मरण गर्दै यस दिनलाई समानता, अधिकार र महिला हिंसाविरुद्धको अभियानका रुपमा मनाइरहँदा प्राप्त अधिकारहरु कार्यान्वयनको प्रत्याभूति एवं विभेद अन्त्यका लागि जुट्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।  
२०७८।११।२४ (८ मार्च २०२२) 
                                                                                         अग्निप्रसाद सापकोटा