नव बर्ष २०७९ को शुभकामना


नव बर्ष २०७९ का अवसरमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाज्यूको शुभकामना सन्देश 
 
नव बर्ष २०७९ को शुभकामना
 
नव बर्ष २०७९ साल प्रारम्भको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
विक्रम सम्वत् २०७८ राजनीतिक, सामाजिक तथा आर्थिक उथलपुथलबाट गुज्रियो । कैयौं अप्ठ्यारा आए र तिनलाई हामीले सुझबुझपूर्ण ढंगले निकास दिँदै गयौं । अनेक आरोह अवरोहबीच गुज्रेको वर्ष २०७८ हामीलाई धेरै पाठ सिकाएर मात्र होइन भविष्यका लागि आशावादी बनाएर बिदा भएको छ ।
वि.सं. २०७९ चुनावी बर्ष पनि हो । सबै ७५३ स्थानीय तहहरुमा नयाँ पदाधिकारीहरु तथा कार्यपालिकाका लागि आगामी वैशाख ३० गते निर्वाचनको मिति तोकिएको छ । तसर्थ, आम नागरिकका लागि आफ्नो अमूल्य मताधिकारको सही प्रयोग गर्ने एवं राजनीतिक दलहरुका लागि आफ्ना नीति र नेतृत्वको परीक्षाको बर्ष बन्ने देखिएको छ ।
आगामी दिनमा संविधानको कार्यान्वयन, परिवर्तित व्यवस्था अनुरुप नागरिकले अनुभूत गर्ने तहमा जीवनस्तर परिवर्तनको दिशामा मुलुकलाई अगाडि बढाउन दलहरुका बीचमा सहकार्य र सहमतिको संस्कृति अझ विकास र विस्तार हुने विश्वास लिएको छु ।
लोकतन्त्रको उच्चतम अभ्यास गर्न, यसलाई फुल्ने, फल्ने वातावरण बनाउन, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागु गर्न निरन्तर प्रयत्नरत रहन एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात गर्न नयाँ बर्षले सबैलाई प्रेरणा दिने छ भन्ने मेरो विश्वास रहेको छ ।
२०७९/०१/०१
अग्निप्रसाद सापकोटा