अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना


अन्तर्राष्ट्रिय श्रमिक दिवस, १ मई २०२२ को अवसरमा सम्माननीय सभामुखज्यूको शुभकामना सन्देश 
...........................................................................................
                                अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना
१३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा हार्दिक बधाई एवं शुुभकामना व्यक्त गर्दछु । मजदुर तथा श्रमजीवी वर्गको मजबुत एकताको बलमा अधिकार प्राप्तिको स्मरणमा हरेक वर्ष मनाइने यस दिवसको अवसरमा नेपाली समाजको अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
दुई बर्ष यता कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरले श्रमिक तथा मजदुर वर्गले प्रत्यक्ष असर भोग्नु पर्यो । हाल कोरोनाको प्रभावमा कमी आएसँगै यस क्षेत्रमा सुधार हुने एवं लाखौं श्रमिक खाली बस्नु पर्ने र श्रमका लागि विदेश पुगेका श्रमिक रोजगारी गुमाएर फिर्ता हुनु पर्ने अवस्थाको अन्त्य हुने अपेक्षा छ ।
श्रमिक एवं मजदुर वर्गको विशिष्ट योगदानका कारण संविधान सभाबाट बनेको संविधानमा श्रमिक एवं मजदुर वर्गको हक अधिकार समावेश भएका छन् । संविधान प्रदत्त अधिकारहरुको व्यवहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयास जारी रहने आशा गरेको छु ।
एकातिर हरेक वर्ष श्रम बजारमा नवप्रवेशीहरुको संख्यामा बृद्धि भइरहेको छ भने अर्कोतिर  विज्ञान प्रविधिको विकासले थोरै मानव संसाधनबाट धेरै काम सम्पन्न हुने अवस्था सृजना भएको छ । यसबाट श्रम बजारमा बेरोजगारहरुको संख्यामा अझ वृद्धि हुन सक्छ ।
तसर्थ, कृषिलाई श्रमसँग र शिक्षालाई उत्पादनसँग जोड्दै उपलब्ध स्रोतहरुको उच्चतम् एवं दिगो प्रयोग गरी श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न साझा संकल्पको खाँचो छ । संघीय संसदको नेतृत्वका रुपमा यसका लागि सदैव तत्पर रहेको विश्वास दिलाउन चाहन्छु । यस दिवसले सम्पूर्ण श्रमिक मजदुर वर्गमा उत्साह भर्ने विश्वास पनि व्यक्त गर्दछु । 
२०७९/०१/१८ (मे १, २०२२०)
                                                                            अग्निप्रसाद सापकोटा