'संसद दिवस २०७९' को अवसरमा सम्माननीय सभामुखज्यूको शुभकामना सन्देश


शुभकामना
 
‘संसद दिवस २०७९’ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्दछु । संसद दिवसका अवसरमा लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलन र जनसंघर्षहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते तथा अपाङ्ग हुनुभएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । नेपालमा वि.सं. २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिकासिक दिनको स्मरणमा यस दिनलाई संसद दिवसका रुपमा मनाउने प्रचलन रहि आएको छ ।  
नेपालमा संविधान सभामार्फत् निर्माण गरिएको संविधान व्यावहारिक अभ्यासको क्रममा छ । संविधानमा लोकतन्त्रका सबै आयामहरुका साथै नयाँ विषयहरु पनि समेटिएका छन् । संविधानमा उल्लेखित लोकतान्त्रिक अधिकारको उच्चतम प्रयोग र जनताको आवाज मुखरित गर्ने सर्वोच्च थलो संसद हो । संसद दिवसका अवसरमा संविधान निर्माणपछिको पहिलो संसदले भोग्नु परेका विविध आरोहावरोह, नयाँ संविधान जारी भएपछिको संघीय संसदसँगका जनअपेक्षा र हाम्रा कामहरुको समीक्षा गर्ने बेला आएकोे छ ।    
संघीय संसदलाई जीवन्त र जनमुखी बनाउने सूत्रवाक्यलाई आत्मसात् गरी हामी अगाडि बढेका छौं । दुई दुई पटकको विघटन, कोभिड संकटलगायत विविध समस्याहरुका बीचबाट संसदले आफ्ना कार्यहरु निरन्तर अगाडि बढाइरहेको छ । हामी सामु संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु पारित गर्नु पर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनु पर्ने अभिभारा छ ।
संसद दिवसले संघीय संसदका सदस्यहरु, संविधान सभाका सदस्य, पूर्वसांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा लोकतान्त्रिक परिपाटीको रक्षा र सुदृढीकरणका लागि एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएको छु ।  २०७९।०३।१६
                                                                                                                अग्निप्रसाद सापकोटा