संघीय संसद सचिवालयको प्रेस विज्ञप्ति


 
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शुको पहिलो दिनका विविध कार्यक्रम एवं समझदारी पत्रमा हस्ताक्षरका सम्बन्धमा संघीय संसद सचिवालयको प्रेस विज्ञप्ति
...........................................
संघीय संसद सचिवालय
प्रेस विज्ञप्ति
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शुलाई सम्माननीय सभामुखले २०७९ भाद्र २७ गते अपरान्ह ३ ४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गर्नु भयो ।
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले अपरान्ह ५ २० मा जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकांग्रेसका महामहिम अध्यक्ष ली चान्शुलाई संघीय संसद भवन बानेश्वरमा स्वागत गर्नु भयो । त्यस लगत्तै उहाँहरुबीच संसद भवनको तिलिचो हलमा शिष्टाचार भेटवार्ता भयो ।
शिष्टाचार भेटपछि संघीय संसद भवनको लोत्से हलमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शुले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक वार्ता गर्नुभयो । वार्ताका क्रममा दुई उच्च अधिकारीका बीचमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगको उत्कृष्ट अवस्थाप्रति खुशी व्यक्त गर्दै आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो । द्विपक्षीय भेटमा सम्माननीय सभामुखले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको र नेपाली भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता जनाउनुभयो । यसैगरी महामहिम अध्यक्ष ली चान्शुले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर समर्थन रहेको बताउनु भयो ।
सम्माननीय सभामुखले नेपालको विकास प्रयासमा जनवादी गणतन्त्र चीनको जनता र सरकारको उदार सहयोगको प्रशंसा गर्दै महामारीपछिको पुनर्स्थापना र नेपालको अन्य विकास प्राथमिकताहरूमा चीनबाट थप सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले नेपाललाई पर्याप्त स्वास्थ्य सामग्री, उपकरण र कोभिड–१९ को खोप उपलब्ध गराएकोमा चीन सरकारप्रति नेपालका जनता र सरकार आभारी रहेको बताउनु भयो । भेटमा महामहिम अध्यक्ष लीले नेपालमा आगामी संघीय संसद र प्रदेश सभाको निर्वाचनको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
भेटका क्रममा दुवै पक्ष अन्तरसंसदीय आदानप्रदान र सहयोगलाई थप मजबुत बनाउन सहमत भएका छन् । सो अवसरमा दुई विधायिकाबीचको सद्भावना र समझदारीलाई थप प्रवर्द्धन गर्न एकअर्काको संसदमा संसदीय मैत्री समूहको भूमिकालाई पनि जोड दिइएको थियो । उक्त अवसरमा दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशको विचमा भएका सरसहयोग र घनिष्ठ सम्बन्धको चर्चा गर्दै आगामी दिनमा आपसी हितका विषयमा काम गर्ने, संसदीय सहयोग आदान प्रदान गर्ने र उच्च स्तरीय भ्रमण आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।
भेटवार्तामा नेपाल चीन संसदीय मैत्री समुहका संयोजक माननीय सुवास चन्द्र नेम्वांग, प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरू मा. चित्रलेखा यादव, मा. देव प्रसाद गुरुङ, मा. सरला कुमारी यादव, मा. प्रमोद कुमार शाह, प्रतिनिधि सभाका सचिव गोपाल नाथ योगी, संसद सचिवालयका सचिवालय सचिव द्वय ध्रुव प्रसाद घिमिरे र शुदर्शन खड्का तथा परराष्ट्र सचिव लगायत चौध जना सहभागी हुनुहुन्थ्यो । छलफलको अन्तमा नेपालको संघीय संसदको विकास तथा आपसी सहयोग आदान प्रदान सम्बन्धमा पाँच बर्षसम्म निरन्तर अघि बढ्ने गरी ६ बुंदे समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भयो । समझदारी पत्रमा संघीय संसदको नेतृत्व सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शुले हस्ताक्षर गर्नु भयो ।
समझदारीका छ बुँदामा दुबै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न एक अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एक अर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एक अर्काका मूल हित महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएको उल्लेख छ । यस्तै दुबै पक्षले दुई राष्ट्र र जनताको सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्याउन बहुआयमिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्नेछन भनिएको छ ।
यसैगरी दुबै पक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दुई व्यवस्थापिकाबीच उच्च स्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिने विषय उल्लेख छ । समझदारी पत्रमा दुबै पक्षले संसदीय मैत्री समूहहरुलाई उनीहरूको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्नेछन् र साथ दिनेछन् तथा दुई व्यवस्थापिकाबीच सदभाव र समझदारी प्रवर्द्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गर्नेछन् भनिएको छ । दुवै पक्षले एकअर्काको विधायिकी, सुपरिवेक्षकीय र शासन सञ्चालन सम्बन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकारबीच सहमति भएबमोजिम वेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत समेत दुई राष्ट्रहरुबीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने विषय उल्लेख छ । यस्तै दुबै पक्ष साझा हितको विषयमा इन्टर पार्लियामेण्टरी यूनियन लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरुको खाका अन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएका छन् भनिएको छ ।
समझदारी पत्रमा हस्ताक्षर पछि नयाँ बानेश्वरमा आयोजना गरिएका पहिलो दिनको कार्यक्रम समापन भयो । त्यसपछि सम्माननीय सभामुखले होटल सोल्टीमा महामहिम ली चान्शु र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभयो । सो रात्री भोजमा नेपालका तर्फबाट पूर्वप्रधानमन्त्रीज्यूहरु, मन्त्रीहरु, दलका नेताहरु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रवक्ता
डा. रोजनाथ पाण्डे
मिति २०७९ भाद्र २७ गते

May be an image of text