सभामुख सापकोटाद्वारा चिनियाँ समकक्षी लीलाई बिदाइ


 
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फर्कनु भएको छ । उहाँलाई सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज विहान ८: ५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिकतापूर्वक बिदाइ गर्नु भयो ।
जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शु यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आउनु भएको थियो । उहाँलाई सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गर्नु भएको थियो ।
सोही दिन सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र महामहिम अध्यक्ष ली चान्शुबीच संघीय संसद भवनको तिलिचो हलमा शिष्टाचार भेट वार्ता भएको थियो । त्यस पछि संसद भवनको लोत्से हलमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शुले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक वार्ता गर्नुभएको थियो । वार्ता पछि नेपालको संघीय संसदको प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कंग्रेस) बीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । समझदारी पत्रमा संघीय संसदको नेतृत्व सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शुले हस्ताक्षर गर्नु भयो । भ्रमणको पहिलो दिन सम्माननीय सभामुखले महामहिम ली चान्शु र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा होटल सोल्टीमा 'स्टेट डिनर'को आयोजना गर्नु भएको थियो ।
२०७९ भदौ ३०