२०७९ असोज १ गतेको प्रतिनिधि सभा बैठकमा सभामुखज्यूको सम्बोधन


माननीय सदस्यहरु
 
विभिन्न आरोह अवरोह, उल्लेखनीय मोडहरु पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौं अहम् विषयलाई निष्कर्षमा पुर्याएर केही विषय सघन विमर्शका लागि सुम्पेर संघीय संसद, प्रतिनिधि सभाको पहिलो कार्यकाल सम्पन्न हुँदै छ ।
यस अवधिमा संघीय संसद, प्रतिनिधि सभालाई जीवन्त र जनमुखी बनाउने अठोटका साथ गरिएका पहल र प्रयत्नहरुमा माननीय सदस्यहरुबाट प्राप्त विश्वास र सहयोगका लागि विशेष आभार व्यक्त गर्दछु । संसदलाई आम नागरिकको विश्वासको धरोहरका रुपमा सधैँ गतिशील बनाउन झक्झक्याइ रहने माननीय सदस्यहरु, सञ्चार जगत्, नागरिक समाजलगायत आम नागरिकहरुप्रति धन्यवाद दिन चाहन्छु ।
यो प्रतिनिधिसभाको पूर्ण कार्यकालका लागि भएका पहललाई इतिहासले पक्कै स्मरण गर्नेछ । एउटै कार्यकालमा दुई–दुई पटकसम्म संसदको विघटन र पुनर्स्थापना सम्भवत: विश्वकै संसदीय इतिहासमा पहिलो परिघटना हो । पूर्ण कार्यकाल चलेको यस प्रतिनिधिसभा आगामी दिनका लागि अनुकरणीय बन्नेछ भन्ने मेरो विश्वास छ ।
माननीय सदस्यहरु
प्रतिनिधिसभाको यस कार्यकालमा हामीले राष्ट्रियताका सवालमा अभूतपूर्व कार्य गरेका छौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा जारी गर्ने सन्दर्भमा संघीय संसद, प्रतिनिधि सभामा दलहरुबीच देखिएको अभूतपूर्व एकताको प्रदर्शन सदा स्मरणीय रहने छ ।
हामीले यही कार्यकालमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण उत्पन्न संकटका बेलामा समेत तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै बैठक सञ्चालन गरी जनताका सवालहरुमा छलफल गर्यौं ।
संघीय संसदको नेतृत्व, संसदीय मैत्री समूहहरुबाट अन्तर व्यवस्थापिका संघ, असंलग्न आन्दोलन संसदीय अभियान लगायतका विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको संसदका तर्फबाट भएको सहभागिता र सम्बोधनले संघीय संसदलाई विश्वभर परिचित गराउनुका साथै नेपालले उठाएका मुद्दा स्थापित हुन पुगेका छन् भन्ने विश्वास लिएको छु । यस अवधिमा विभिन्न देशबाट नेपाल आएको संसदीय प्रतिनिधिमण्डलसँगको भेटवार्ता र अन्तरक्रियाले एक अर्काको असल संसदीय अभ्यासका विषय आदानप्रदानमा सहयोग पुगेको छ ।
प्रतिनिधि सभाका सभामुखको निमन्त्रणालाई स्वीकार गरी छिमेकी राष्ट्र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शुले गर्नु भएको नेपाल भ्रमण, संघीय संसद भवनमा भएको शिष्टाचार भेट, दुई पक्षीय वार्ता, त्यस क्रममा संघीय संसद, प्रतिनिधि सभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच अन्तरसंसदीय सहकार्यका लागि भएको समझदारी कोसेढुंगा बनेको छ ।
यस कार्यकालमा मिनि संसदका रुपमा रहेका समितिहरुले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहन पुगेका छन् । सभामुखको अध्यक्षतामा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपस्थिति, सक्रिय सहभागिता र परामर्शका लागि माननीय सदस्यहरुले खेल्नु भएको भूमिकाप्रति आभार व्यक्त गर्दछु ।
संघीय संसद र सातवटै प्रदेशका प्रदेशसभा सञ्चालन सम्बन्धी अनुभव आदान प्रदान एवं अन्तरक्रिया र ती कार्यक्रमबाट आएका निष्कर्षले संसदलाई थप जीवन्त र जनमुखी बनाउन सहयोग पुगेको छ । म सबै प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।
माननीय सदस्यहरु
यो प्रतिनिधिसभा २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुई पटक विघटन भयो र दुबै पटक जनताको पहलकदमी र सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनर्स्थापित भयो ।
संविधानमा उल्लेखित शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप शक्ति सन्तुलन र नियन्त्रण सहितको संवैधानिक सर्वोच्चताको विषय प्रतिनिधि सभाको यो अवधिमा स्थापित हुनु आगामी दिनका लागि मार्गदर्शन सावित हुने नै छ ।
संसदको सफलतामा दलहरुबीच उच्च समझदारी र सहकार्य आवश्यक छ । ११ औं अधिवशेनमा उल्लेखनीय कार्य भएको तथ्यले पनि दलहरुबीच उच्च समझदारी बन्दा संसदले गति लिने यथार्थ पुनर्पुष्टि भएको छ । यही समझदारीले सहकार्यमा आधारित राजनीतिक संस्कृतिको विकास र विस्तार आगामी दिनका लागि अनुकरणीय बन्नेछ भन्ने मेरो विश्वास छ ।
जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने यो सर्वोच्च थलोको महत्व र गरिमा बढाउन सभामा प्रतिनिधित्व गर्ने दल एवं माननीय सदस्यहरुको भूमिका महत्वपूर्ण हुन्छ भन्ने यथार्थ हामीले पक्कै महसुस गरेका छौं । यस अवधिमा जनताले सुम्पेका गहन जिम्मेवारी वहन गर्न हामी कति सक्षम भयौं, इतिहासले पक्कै समीक्षा गर्नेछ ।
माननीय सदस्यहरु
प्रतिनिधि सभाको यस कार्यकाललाई सफल बनाउन सहयोग गर्नु हुने माननीय सदस्यहरु, दलका नेताहरु, कानूनविद्, सञ्चारकर्मी, बुद्धिजिवी, नागरिक समाज, संसद सचिवालयका कर्मचारीलगायत सम्बद्ध सबैलाई धन्यवाद दिन चाहन्छु ।
म सम्पूर्ण माननीय सदस्यहरुको सुस्वास्थ्यका साथै आगामी दिनहरु सक्रिय र उपलब्धीपूर्ण रहोस् भन्ने शुभकामना दिन चाहन्छु ।
अन्त्यमा, आगामी मंसिर ४ गतेका लागि तय भएको अर्को प्रतिनिधिसभाको निर्वाचन निश्पक्ष ढंगले सफल बनाउन हामी सबैको योगदान रहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । धन्यवाद ! २०७९ असोज १ गते शनिबार