चाडपर्वका अवसरमा सभामुखज्यूको शुभकामना सन्देश २०७९


शुभकामना

२०७९ सालको दसैं, तिहार, छठ लगायतका राष्ट्रिय पर्वहरु र नेपाल सम्वत् ११४३ को अवसरमा सम्पूर्ण दिदीबहिनी एवं दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
यस बर्ष देशका बिभिन्न जिल्लामा भएका प्राकृतिक प्रकोप, डेंगु, कोभिड–१९ र दुर्घटनाका कारण ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
मौलिकता र विविधता नेपालीहरुका मूल विशेषता हुन् । हाम्रा संस्कृति, परम्परा एवं मनाउँदै आएका चाडपर्वहरुले मौलिकता र विविधताको प्रतिनिधित्व गर्दछन् । दसैं, तिहार, छठलगायतका चाडपर्वहरु सामाजिक अन्तरघुलन र सद्भाव बढाउन महत्वपूर्ण सावित भएका छन् ।
चाडपर्वहरुको अवसरमा हुने पारिवारिक जमघट एवं आफन्त भेटघाटका क्रममा हुने छलफलहरु समाज रुपान्तरणका लागि महत्वपूर्ण सावित हुने छन् भन्ने विश्वास लिएको छु । आगामी मंसिर ४ गतेका लागि तय भएको निर्वाचन निश्पक्ष रुपमा सफल बनाउन हरेक बालिग नेपाली नागरिकको विशिष्ट योगदान रहने कुरालाई गहिरो गरी आत्मसात गर्न सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुलाई आग्रह गर्दछु ।
अन्त्यमा, जनस्वास्थ्यविद्हरुले डेंगुको जोखिम बढ्दै गएको बताइरहँदा सचेत भएर चाडपर्व मनाउन सबैमा विशेष अपिल गर्दछु । हाम्रा चाडपर्वहरु व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्नेछन् भन्ने विश्वास व्यक्त गर्दछु ।
२०७९।०६।१६
                                                                                                 अग्निप्रसाद सापकोटा