सभामुखद्वारा २०७९ मंसिर ४ को चुनाव नलड्ने घोषणा


सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो सिंहदरबारस्थित संसद सचिवालयमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै आफू आगामी निर्वाचनमा उमेदवार नबन्ने जानकारी गराउनु भयो ।
सभामुख सापकोटाले आज जारी गर्नु भएको वक्तव्य
.............................................
वक्तव्य
नेपाली जनताको जीवनमा सकरात्मक परिवर्तन ल्याउने उद्देश्यसहित रुपान्तरणकारी राजनीतिमा सक्रिय भएको करिव साढे चार दशकमा लगातार तीनपटक निर्वाचित भई जनप्रतिनिधिमूलक संस्थामा क्रियाशील भएँ । २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भई नेपालको संविधान निर्माणको ऐतिहासिक परिघटनाको हिस्सा बन्ने अवसर प्राप्त भयो । ती कार्यकालमा क्रमश: विसं २०६८ मा सूचना तथा संचार र विसं २०७२ मा वन तथा भूसंरक्षण मन्त्रीको जिम्मेवारी पनि निर्वाह गरें ।
२०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित भएँ र यही कार्यकालमा २०७६ माघ १२ गते प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएँ । जनप्रतिनिधिमूलक संस्था, संघीय संसदको नेतृत्वका हैसियतमा पौने तीन वर्षको अवधिमा मैले देश र जनताको पक्षमा सदैव आफूलाई समर्पित गरें ।
यी सबै कार्यकालमा विधायिकी जिम्मेवारीका अतिरिक्त सिन्धुपाल्चोकबासीको विकासको चाहनलाई मूर्तरुप दिन आफ्नो ज्ञान, क्षमता र विवेकले भ्याएसम्म मेहनत गरें । मेरो प्रयासको कदरस्वरुप सिन्धुपाल्चोकका जनताले पटक पटक मलाई निर्वाचित गर्नु पनि भयो ।
मलाई लगातार तीनपटक निर्वाचित गरी राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिनुभएकोमा सिन्धुपाल्चोकका आदरणीय मतदाता एवं जनसममुदायमा हार्दिक आभार व्यक्त गर्दछु ।
संघर्षशील पृष्ठभूमि, राजनीतिक पहलकदमीको संभाव्यता तथा जिम्मेवारीप्रतिको इमान्दरिताका कारण पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुन: जनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नुभएकोमा धन्यवाद दिंदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु ।
संसदीय भूमिकामा नरहे पनि म देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने छु र अग्रगामी राजनीतिक अभियानमार्फत् आम नेपाली नागरिकको समुन्नतिका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म काम गर्नेछु । त्यस्तै, राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु । राजनीतिक एव् सामाजिक मञ्चमार्फत् सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उँचो बनाउन मेरो सक्रियतामा कुनै कमी आउन दिने छैन । मानव जातिको उन्नतिका लागि परिश्रम गर्नु मेरो जीवनको आदर्श हो ।
किशोर उमेरमा न्यायपूर्ण आन्दोलनमा सहभागी भएको तथा युवालाई रुपान्तरणकारी आन्दोलनमा क्रियाशील हुन तथा जिम्मेवारी लिन निरन्तर प्रेरित गर्दै आएकाले राज्य संचालनको जिम्मेवारीमा युवाको उल्लेख्य हिस्सा हुनुपर्छ र त्यसका लागि कसै न कसैले पहल र त्याग गर्नुपर्छ भन्ने मान्यतामा मेरो दृढ विश्वास रहँदै आएको छ । मलाई आशा छ, मेरो यो निर्णयले राजनीतिक रुपान्तरणका लागि नयाँ रक्तसंचार गर्नेछ ।
२०७९ असोज २२
अग्निप्रसाद सापकोटा