सम्माननीय सभामुख देवराज घिमिरे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता


सभामुख घिमिरे र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट 

११ माघ, काठमाडौं 

संघीय संसद, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेपालका लागि  भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपालका लागि  भारतीय राजदूत नवीन श्रीवास्तवले सभामुख घिमिरेलाई सभामुख निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
राजदूत श्रीवास्तवले सभामुख देवराज घिमिरेको कार्यकालमा दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्याउन सफल हुने विश्वास गर्नु भयो र २६ जनवरीमा भारतको राष्ट्रिय दिवसको अवसरमा भारतीय राजदूतावासमा अयोजना हुन गइरहेको कार्यक्रममा निमन्त्रणा गर्नुभयो र सभामुख घिमिरेले उक्त निमन्त्रणा स्वीकार गर्नुभयो ।
सभामुख देवराज घिमिरेले भारतको राष्ट्रिय दिवस २६ जनवरीको अवसरमा शुभकामना दिनुहुँदै नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्नुभयो। सभामुख घिमिरेले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं बर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५ औं बर्ष मनाइरहेको सन्दर्भ स्मरण गर्नुहुँदै नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्नुभयो।उहाँले भारतको लोकतान्त्रिक अभ्यासबाट नेपालले सिक्न चाहेको बताउँदै दुवै देशका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने धारणा राख्नु भयो ।  
राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो लुम्बिनी भ्रमणले धार्मिक पर्यटनका साथै नेपालले भारततर्फ विद्युत निर्यात गरेर राष्ट्रिय आयमा योगदान भइरहेको र आगामी दिनमा अरुण तेश्रो आयोजनाबाट विद्युत उत्पादन हुन थालेपछि सो व्यापार वृद्धि भई दुवै मुलुकलाई लाभ पुग्ने आशा व्यक्त गर्नुभयो । राजदूत श्रीवास्तवले  विभिन्न सुख्खा बन्दरगाहमा काम भइरहेको तथा झापा – सिलिगुडी पेट्रोलियम पाईपलाइन कार्यान्वयनबाट नेपालका पूर्वीभेगका नागरिकलाई राहत हुने अपेक्षा राख्नुभयो।

सभामुख घिमिरेले नेपाल - भारतबीच रहेको नेपालको व्यापार घाटा कम गर्न ठोस कदम चाल्न पर्ने धारणा व्यक्त गर्नुभयो । ऐतिहासिक र प्रगाढ सम्बन्ध रहेको दुबै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उहाँले पेट्रोलियम पाईपलाइन, रेलमार्ग तथा विद्युत लगायतका आयोजनाहरुको प्रगतिले नेपाली जनता उत्साहित रहेको धारणा व्यक्त गर्नुभयो ।
२०७९ माघ ११