सम्माननीय सभामुखसँग चिनियाँ राजदूतको भेट


२०७९ माघ २५ गते बुधबार
काठमाडौं– सम्माननीय सभामुख देवराज घिमिरेसँग नेपालका लागि चीनका राजदूत छेन् सोङ्गले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यालयमा भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध,  संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ । भेटमा चिनियाँ राजदूतले जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले सम्माननीय सभामुख घिमिरेलाई पठाउनुभएको शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको छ ।

२०७९ माघ ५ गते घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित हुनुभएको थियो ।

चिनियाँ राजदूत सोङ्गले सभामुख घिमिरे वरिष्ठ राजनीतिक रहेको, नेपालको कम्युनिष्ट आन्दोलन र  लोकतान्त्रिक आन्दोलनमा अथक भूमिका निर्वाह गरेको भन्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

सभामुख घिमिरेले एक चीन नीतिप्रति नेपाल दृढ रहेको र नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताउँदै चीनको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई उच्च महत्व दिने उल्लेख गर्नुभयो । उहाँले कोभिड महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पु¥याएको सहयोगको प्रशंसा गर्नुभयो ।

भूकम्पपछिको पुनर्निर्माणमा चीनबाट भएको सहयोग स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले दुई देशबीचका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।