​सम्माननीय सभामुख घिमिरेसँग बेलायती राजदूतको भेट


१ फागुन, २०७९
काठमाडौं– बेलायती राजदूत निकोला पोलिटले आज सम्माननीय सभामुख देवराज घिमिरेसँग भेट गर्नुभएको छ । सभामुख कार्यकक्ष सिंहदरवारमा भएको भेटमा दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतमा केन्द्रित थियो । 

बेलायती राजदूतसँगको भेटमा सम्माननीय सभामुख घिमिरेले दुई देशबीच सरकार–सरकार मात्र नभई जनता–जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गर्नुभयो । बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो । उहाँले भन्नुभयो, “दुई देशबीच २ सय वर्ष पुरानो सम्बन्ध अविष्मरणीय छ । विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौँ ।”

बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा संसदीय आदान प्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको एक सय वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको समेत जानकारी दिनुभयो । उहाँले विधायन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

राजदूत पोलिटले गत निर्वाचनमार्फत नयाँ राजनीतिक दल र नयाँ प्रतिनिधि सभा सदस्य निर्वाचित भएको उल्लेख गर्दै संसदमा उनीहरुको उपस्थितिले नयाँपन आउने अपेक्षा गर्नुभयो ।