सम्माननीय सभामुख देवराज घिमिरेसँग जर्मनीको संसदको साउथ एसिया समूहका सदस्यहरू र राजदूतको शिष्टाचार भेट
काठमाडौँ
२०७९ फागुन ९ गते सोमबार
सम्माननीय सभामुख देवराज घिमिरेसँग जर्मनीको संसदको साउथ एसिया समूहका सदस्यहरू र नेपालका लागि जर्मनीका राजदुतले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित सभामुख कार्यालयमा भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, नेपालको दिगो आर्थिक बिकास लगायतका विषयमा छलफल भएको छ ।
सभामुख घिमिरेले नेपाल र जर्मनीबीचको लामो कुटनीतिक सम्बन्ध र सन् २०१७ मा जर्मनीका उपसभामुखको नेपाल भ्रमण स्मरण गराउनुभएको छ ।नेपालको संक्रमणकालीन न्यायका केही विषय सम्बोधन गर्न बाँकी रहेको उल्लेख गर्दै सो विषयलाई संसदले यथाशिघ्र टुङ्गो लगाउने उहाँले उल्लेख गर्नुभयो ।नवीकरणीय र स्वच्छ उर्जामा पहुँच अभिवृद्धि गर्ने, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा जर्मनीले नेपाललाई गरेको सहायताको प्रशंसा गर्दै उच्च शिक्षा अध्ययनका लागि जर्मनी गएका नेपालीलाई ज्ञान आर्जनपश्चात स्वदेशमै लगानी तथा बसोबासका लागि आकर्षित गर्नसके नेपालमा उपलब्ध मानवपूँजी थप मजबुत हुने र बैदेशिक लगानी आकर्षित गर्नुसकिने उल्लेख गर्नुभयो ।नेपालको आर्थिक संबृद्धि निर्माणमा लगानी सहायताको नयाँ आयाम मानव पूँजी निर्माण हुनसक्ने उल्लेख गर्नुभयो ।
जर्मनीका संसदको साउथ एसिया समूहका नेपाल भ्रमणमा रहनुभएका टोली नेता रिनाटे कुनास्टाले सभामुख घिमिरेलाई पदभार ग्रहण गर्नुभएकोमा शुभकामना दिँदै कार्यकाल सफलताको कामना गर्नुभयो । नेपालमै युवालाई रोजगार तथा आय आर्जनमा संलग्न गराउन सूचना प्रविधिको क्षेत्रमा व्यापक सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो ।त्यस्तै भ्रमणमा रहनुभएका टोली सदस्यहरूले नेपालको कलिलो लोकतन्त्रलाई मजबुत बनाउन आवश्यक सहयोग जर्मनीले गर्नसक्ने र सो का लागि नेपालले पहल गर्नुपर्ने बताउनुभयो।नेपालमा प्रगतिशील कानूनहरू रहेकोमा भ्रमण टोलीका सदस्यहरुले नेपालको कानून निर्माण प्रक्रियाको प्रशंसा गर्नुभयो ।
भूकम्पपछिको राहत, उद्दार र पुननिर्माणमा जर्मनीबाट भएको सहयोग स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले विद्यमान कानून व्यवहारमा पूर्णत: लागू गर्न केही समय लाग्ने व्यक्त गर्नु भयो ।