सम्माननीय सभामुख र क्युवाका गैह्रआवासीय राजदूत H.E. Alejandro Simancas Marin बीच भेटवार्ता
काठमाडौं ।
२०८०/०१/१३, बुधबार
सम्माननीय सभामुख श्री देवराज घिमिरेसँग नेपालका लागि क्युबाका गैह्रआवासीय राजदूत H.E. Alejandro Simancas Marin ले सभामुख कार्यकक्ष, सिंहदरवारमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले नेपाल र क्युवाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्ष पुगेको स्मरण गर्दै दुई देशबीच आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । उहाँले क्युवाको चिकित्सक टोलीले नेपाललाई महाभूकम्पका समयमा पुर्याएको सहयोगको प्रशंसा गर्नुभयो ।
सम्माननीय सभामुखले क्युवाको संसदको हालै भएको निर्वाचनमा निर्वाचित अध्यक्ष र सांसदहरुलाई शुभकामना दिदैँ दुई देशका संसदबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र संसदीय आदान प्रदान गर्न नेपाल तयार रहेको दर्शाउनुभयो ।
गैह्रआवासीय राजदूत H.E. Alejandro Simancas Marin ले क्युवाको संसदमा पहिलोपटक क्युवा–नेपाल मैत्री समूह गठनको तयारी भएको जानकारी दिँदै नेपालले पनि मैत्री समूह गठन गर्ने विश्वास लिएको जनाउनुभयो । उहाँले अमेरिकाले दुई वर्षअघि क्युवामाथि लगाएको आर्थिक नाकाबन्दीविरुद्ध नेपाल उभिएको स्मरण गर्दै नेपालको समर्थनप्रति धन्यवाद व्यक्त गर्नुभयो ।