सम्माननीय सभामुख श्री देवराज घिमिरे र नेपालका लागि गणतन्त्र कोरियाका महामहिम राजदूत H.E. Park Chong Suk बिच शिष्टाचार भेट
काठमाडौँ
२०८०/०१/२१
सम्माननीय सभामुख श्री देवराज घिमिरेज्यूसँग नेपालका लागि गणतन्त्र कोरियाका महामहिम राजदूत H.E. Park Chong Suk ले सभामुख कार्यकक्ष सिंहदरबारमा शिष्टाचार भेटघाट गर्नुभएको छ।
राजदूत H.E. Park Chong Suk ले सभामुखलाई सभामुख पदमा निर्वाचित हुनुभएकोमा बधाई दिँदै कार्यव्यस्तताका बाबजुद भेटघाटका लागि समय मिलाउनु भएकोमा धन्यवाद दिनुभयो ।उहाँले आफ्नो कार्यकाल निकट भविष्यमा समाप्त हुन लागेको र नयाँ नियुक्त हुनुभएको नेपालका लागि कोरियाली राजदुत अर्थ सम्बन्धी विज्ञ रहेकाले, नेपाल र कोरियाबिचको सम्बन्ध थप आर्थिक गतिशिलताले उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।राजदूत H.E. Park Chong Suk ले आफ्नो तीन वर्षे कार्यकालमा नेपाल र कोरियाबिच जनस्तर साझेदारी, बिकास कार्य तथा आर्थिक हैसियत सुधारका कार्यमा उल्लेख्य सुधार भएको बिचार व्यक्त गर्नुभयो ।रोजगार अनुमती प्रणाली (EPS) मार्फत कोरिया जाने नेपालीहरुको संख्या अन्य १६ देशको तुलनामा अगाडी रहेको र यस वर्ष समेत कोटाभन्दा बढी नेपाली कोरिया जान पाएका उल्लेख गर्नुभयो ।त्यस्तै, धार्मिक आस्था र हिमालको आकर्षणले गर्दा कोरियाली पर्यटकको रोजाईमा नेपाल पर्ने गरेको, कोरोना महामारीभन्दा अगाडी वार्षिक चालीस हजार पर्यटक नेपाल भ्रमणमा रहने गरेको तथ्याङ्क रहेको, कोरोना महामारीका कारण सो संख्यामा कमी आएको भएतापनि वर्तमान समयमा पर्यटकका रुपमा नेपाल भित्रिने कोरियाली नागरिकको संख्या अभिबृद्धि भएको बताउनुभयो। विभिन्न अस्पताल, कृषि क्षेत्र तथा सुचना प्रविधिको क्षेत्रमा नेपाललाई कोरियाले सहयोग गर्दै आएकोमा नेपाल सरकारको प्राथमिकतामा रहेको सात प्रदेशमा प्राविधिक तालिम केन्द्रहरु निर्माण र व्यवस्थापनमा कोरियाले योगदान गरिरहेको बताउनुभयो ।
नेपालको साईबर स्क्यूरिटी व्यूरोको लागि भवनका साथै आवश्यक सामग्री र कोरियाको नोहाउ र नेपालबीच सम्बन्ध बिस्तार गर्ने कोरियाको सोच रहेको बताउनुभयो ।कोरियाली राजदुतले भैरहवास्थित रामग्राममा रहेको Samsung TV Assembling Factory तथा माथिल्लो त्रिशुली जलविद्युत आयोजनामा कोरियाली लगानी रहेको जनाउँदै नेपाल र कोरियाबिचको सम्बन्ध विस्तारमा थप आयाम खोज्न सकिने जनाउँनुभयो ।
सम्माननीय सभामुखले कोरियाका महामहिम राजदूत H.E. Park Chong Suk ले जनस्तर साझेदारी, बिकास कार्य तथा आर्थिक हैसियत सुधारका कार्यमा देखाउनुभएको सक्रियताको प्रसंशा गर्नुभयो ।संसद, जनप्रतिनिधित्व हुने स्थान रहेको र दुई देशका संसदबिच सम्बन्ध बिस्तार हुँदा नागरिक स्तरमा सम्बन्ध बिस्तार हुने जनाउनुभयो ।कोरियाको संसदमा नेपाल कोरिया मैत्री समूह गठन भएकोमा खुसी व्यक्त गर्दै नेपालको संसदमा समेत त्यस्तो मैत्री समूह चाडैँ गठन हुने जनाउनुभयो।कोरियाले छोटो समयमा आर्थिक, सामाजिक, औद्योगिक क्षेत्रमा प्राप्त गरेको सफलता प्रशंसनीय रहेको जनाउँदै रोजगार अनुमती प्रणाली (EPS) प्रणाली मार्फत कोरियामा रोजगारीका लागि गएका, नेपालीहरुले आर्जित सिपलाई आफ्नो देशमा फर्केर व्यवहारिक रुपमा प्रयोग गरी आर्थिक उपार्जन गरेकोमा उत्साह व्यक्त गर्नुभयो । कोरियालीमाझ नेपालको लुम्बिनी, नेपाली संस्कृति र हिमालप्रतिको आकर्षणलाई द्विपक्षीय नागरिक समन्वयमार्फत सम्बन्ध बिस्तार गर्न लगानी – कामदार – प्रतिफललाई व्यवहारमा उतार्नुपर्ने जनाउनुभयो ।
राजदूत H.E. Park Chong Suk ले सन् २०३० मा हुने World Expo का लागि कोरियालाई नेपालको समर्थन प्राप्त होस् भन्ने आकांक्षा गर्नुभयो भने सम्माननीय सभामुखले सो का लागि सकारात्मक रहेको जनाउँदै अग्रीम शुभकामना व्यक्त गर्नुभयो ।साथै, सम्माननीय सभामुखल र राजदूत H.E. Park Chong Suk ले बुद्ध जयन्ती पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान गर्नुभयो ।