सम्माननीय सभामुख र दक्षिण कोरियाका राजदूतबिच शिष्टाचार भेट
सम्माननीय सभामुख र दक्षिण कोरियाका राजदूतबिच शिष्टाचार भेट
२०८० जेठ ३१, बुधबार
काठमाडौं– सम्माननीय सभामुख देवराज घिमिरेसँग आज नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, आर्थिक विकास लगायतका विषयमा कुराकानी भएको छ । भेटमा सभामुख घिमिरेले आगामी वर्ष नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवलाई विशेष महत्वकासाथ जनस्तरमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सभामुख घिमिरेले दक्षिण कोरियामा ८५ हजार भन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको बताउँदै नेपालको आर्थिक विकासमा कोरियाको सहयोग उल्लेखनीय रहेको बताउनुभयो । सम्माननीय सभामुखले सामसुङले नेपालमा कारखाना सुरु गरेकोमा धन्यवाद दिँदै नेपालमा थप लगानी गर्न आग्रह गर्नुभयो ।
बौद्ध जन्मस्थल लुम्बिनीमा कोरियाबाट उल्लेख्य पर्यटकहरु आइरहेको बताउँदै सभामुखले आगामी दिनमा पर्यटन आवागमन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल–कोरिया सीधा हवाई उडानका लागि सकारात्मक तदारुकता देखाउन राजदूतमार्फत कोरिया सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरु शिष्ट, मेहनती र अनशासित रहेको टिप्पणी गर्नुभयो । उहाँले नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताउनुभयो ।
कोरियाको संसदमा कोरिया - नेपाल मैत्री समूह गठन भएको जानकारी दिँदै राजदूत तइयोङले नेपालको संघीय संसदले पनि छिट्टै मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कोरियाबाट फर्केका नेपालीहरुले नेपालमा कृषि लगायतका उत्पादनशील क्षेत्रमा लगानी गरेको बताउँदै उहाँले बिलासिताका बस्तु किनेर खर्च गर्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल विश्वकै दोस्रो ठूलो जनस्रोतको देश भएको बताउँदै उहाँले जलविद्युत लगायतका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको जानकारी दिनुभयो ।