सम्माननीय सभामुखसँग कतारका राजदुतको विदाई भेट

२०८० असार २४
काठमाडौ
सम्माननीय सभामुख देवराज घिमिरेसँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल –हेलले आज सिंहदरबारमा विदाई भेट गर्नुभएको छ ।
सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशको सम्बन्ध, नेपाली श्रमिकको रोजगार सुरक्षा, व्यापार, उड्डयन, संसदीय आदान-प्रदान लगायतका विषयमा संवाद भएको छ। कतारी राजदुत सात वर्षे कार्यकाल पुरा गरेर स्वदेश फर्कँदै हुनुहुन्छ ।
सभामुख घिमिरेले नेपाल कतारबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा झनै प्रगाढ भएर जाने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले कतारमा ठूलो सङ्ख्यामा नेपाली श्रमिकहरू कार्यरत रहेको बताउँदै उनीहरूको रोजगार र सामाजिक सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।
'हामीबीच राजनीतिक, साँस्कृतिक र जनता जनताबीचको सम्बन्ध रहिआएको छ,' सभामुखले भन्नुभयो, 'आगामी दिनमा पनि हाम्रो सम्बन्ध उस्तै प्रगाढ रहनेछ ।'
सभामुख घिमिरेले नेपाली अलैंची, चिया, कफि, पानी लगायत कृषिजन्य सामाग्रीलाई सोझै कतार निर्यातको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
राजदुत युसुफ बिन मोहम्मद अल-हेलले नेपाली श्रमिकका लागि कतारले उल्लेख्य व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले न्यूनतम तलब ४ सय डलर पुर्याएको, कतारमा चारवटा अस्पतालमा श्रमिकको निशुल्क उपचारको व्यवस्था मिलाएको, बैंकिङ प्रणालीबाट तलबको व्यवस्था मिलाएको र तलब नदिने कम्पनीको दर्ता खारेज गर्ने गरेको समेत जानकारी दिनुभयो ।
राजदुत युसुफले कतारले इटली एयरलाइन्स लगायतका विश्वका धेरै एयरलाइन्स कम्पनीमा लगानी गरेको बताउँदै नेपाल एयरलाइन्ससँग पनि साझेदारी गर्ने इच्छा प्रकट गरेको जानकारी
दिनुभयो ।
'हामी सकारात्मक जवाफको प्रतिक्षामा छौं' उहाँले भन्नुभयो, 'यही विषयमा छलफल गर्न नेपालका पर्यटन मन्त्रीलाई निम्तो दिइसकेका छौँ ।'