सम्माननीय सभामुखसँग नर्वेजियन राजदूतको भेट


सम्माननीय सभामुख देवराज घिमिरेसँग सोमबार नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान, विकास सहयोग लगायतका विषयमा छलफल भएको छ ।
भेटमा सभामुख घिमिरेले सन् १९७३ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीच उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कुटनीतिक तहमा भ्रमणको आदान प्रदान भएको, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगायतका क्षेत्रमा सहकार्य भएको बताउनुभयो । ‘विकास साझेदारकोरुपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ, उहाँले भन्नुभयो, ‘नर्वे सरकारले नवीकरणीय ऊर्जा, शिक्षा तथा सुशासनका क्षेत्रमा गरेका कामहरु हाम्रा लागि पनि उपयोगी भएका छन्। लामो राजनीतिक संक्रमणकाल पछि नेपालमा अहिले दिगो आर्थिक विकास तथा शान्ति र स्थायित्वको अभियान सुरु भएको सभामुखको भनाइ थियो ।
नर्वेजियन राजदूत तोरुन ड्रामडलले सन् १९७३ मा कुटनीतिक सम्बन्ध स्थापना भए पनि सन् १९५० देखि नै दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभयो । उहाँले आफ्नो मुलुकले सन २०२३ मा मात्र नेपालका विभिन्न क्षेत्रमा ३ करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको उल्लेख गर्नुभयो।
राजदूत ड्रामडलले दुई मुलुकबीच समय समयमा उच्चस्तरीय भ्रमण भइरहेको स्मरण गर्दै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षा सम्बन्धी संसदीय समितिले नेपाल भ्रमण गर्न लागेको जानकारी दिनुभयो ।
सभामुख घिमिरेले पनि नेपालको संसदीय संसदमा नेपाल-नर्वे संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षा सम्बन्धी संसदीय समितिको नेपाल भ्रमणले संसदीय आदान प्रदानलाई थप उचाईमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।