सम्माननीय सभामुखसँग जापानी राजदूतको भेट

सभामुख देवराज घिमिरेसँग नेपालका लागि जापानका नवनियुक्त राजदूत Maeda Toru ले सोमबार शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरवारमा भएको भेटमा सभामुख घिमिरेले राजदूत Maeda लाई नेपालका लागि जापानका नवनियुक्त राजदूतका रूपमा कार्यभार सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपाल र जापानबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्न राजदूत Maeda को कार्यकाल फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
सभामुख घिमिरेले नेपाल र जापानबीच सन् १९५६ मा स्थापना भएको औपचारिक कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण ढंगले अगाडि बढिरहेको उल्लेख गर्दै भूकम्प लगायत प्राकृतिक विपत्तिका बेला जापानले दिएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि विश्वासिलो विकास साझेदारको रूपमा रहँदै आएको उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले नेपाल–जापान सम्बन्धलाई थप उचाइँमा पुर्याउन दुवै मुलुकबाट उच्चस्तरीय भ्रमण आदान–प्रदान महत्वपूर्ण हुने बताउनुभयो । उहाँले २०१९ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको राज्यरोहण समारोहमा सहभागिता जनाउन गरेको जापान भ्रमण र २०२३ मा जापानकी विदेशमन्त्री Kamikawa Yoko को नेपाल भ्रमणको विशेष स्मरण गर्नुभयो ।
नेपालको भौतिक पूर्वाधार विकासमा जापानको सहयोग उल्लेखनीय रहेको बताउँदै सभामुख घिमिरेले नागढुंगा सुरुङमार्ग परियोजनामा जापानको सहकार्य महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी २०२६ मा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव तथा नेपाल विकासशील राष्ट्रको सूचीमा उक्लने सुखद संयोग रहेको उल्लेख गर्नुभयो ।